• १६ भदौ २०८१, आइतबार

जुत्ताचप्पलको तस्करीले गुम्यो दस अर्ब

blog

काठमाडौँ, साउन २० गते । नेपाल र भारतबिचको खुला सिमानाको फाइदा उठाउँदै हुने जुत्ताचप्पलको तस्करीबाट राज्यले वार्षिक १० अर्ब राजस्व गुमाउनु परेको तथ्य फेला परेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै तयार गरेको एक अध्ययन प्रतिवेदनले गत आर्थिक वर्ष २०७९/८० मा मात्रै १० अर्ब राजस्व गुमेको अनुमानित तथ्य उजागर गरेको हो । 

प्रतिवेदनमा नेपालमा वार्षिक नौ करोड १४ लाख जुत्ताको माग रहेकोमा आन्तरिक रूपमा दुई करोड ७१ लाख जुत्ता उत्पादन हुने उल्लेख छ । त्यसबाहेक चार करोड जुत्ता आयात हुने भए पनि बाँकी दुई करोड ४१ लाख थान जुत्ताको आपूर्ति ‘ग्याप’ देखिएको अध्ययनले देखाएको छ । प्रतिजोर जुत्ताको औसत पाँच सय रुपियाँ मूल्याङ्कन गरेर निकालिएको हिसाबका आधारमा सात अर्ब राजस्व सोझै चुहावट देखिएको हो । त्यस अतिरिक्त मूल्य अभिवृद्धि करलगायत शीर्षकबापत तीन अर्बसहित कुल १० अर्ब राजस्व चुहावट भएको अनुमान अध्ययन प्रतिवेदनले गरेको छ । यसरी हिसाब गर्दा प्रतिव्यक्ति वार्षिक तीन जोर जुत्ता उपभोगलाई आधार बनाइएको छ । 

प्रतिवेदनले खुला सिमाना विशेष गरी जुत्ता तथा चप्पल चोरी तथा तस्करीका लागि केन्द्रबिन्दु बनेको उल्लेख गरेको छ । यस्ता गतिविधिमा संलग्नले निम्न वर्गका स्थानीयलाई उपयोग गर्दै चोरी तस्करी गर्दै आएको पाइएको छ । सीमा क्षेत्र नजिकैका कतिपय ठुला गोदामलाई अध्ययनले तस्करीको केन्द्रका रूपमा आशङ्का गरेको छ । यस्ता गोदाममा भन्डारण सुविधाका लागि विभिन्न समूह र व्यक्तिले नेपालभित्र सामान तस्करी गर्ने, गोप्य स्थानमा लुकाउने र पछि देशभर वितरण गर्ने पाइएको छ । यसरी चोरी तस्करी हुने जुत्ताचप्पलको प्रकार र मात्रा आश्चर्यजनक रहेको प्रतिवेदनमा उल्लेख छ । ‘वार्षिक अनुमानित दुई करोड जोडी जुत्ता र चप्पल चोरी हुन्छन् । प्रत्येकको मूल्य लगभग पाँच सय मौद्रिक मूल्यको हिसाबले मात्रै घाटालाई विचार गर्दा पनि सरकारले वार्षिक पाँच अर्ब ८२ करोड रुपियाँ घाटा बेहोर्नुपरेको छ’ प्रतिवेदनमा उल्लेख छ । 

बुटलेग भारतीय जुत्ता उपलब्ध रहेका हरेक जुत्ता पसलमा तस्करीको असर देख्न सकिने पनि अध्ययनले उजागर गरेको छ । यसले बजारमा जुत्ताको अवैध व्यापार व्यापक रूपमा रहेको तथ्य पुष्टि गर्ने जनाइएको छ । यसरी चोरी जुत्ता र चप्पलसँग सम्बन्धित गतिविधिमा व्यक्ति मात्र नभई नेपाल र भारतका व्यापारीहरू पनि संलग्न रहेको अध्ययनले देखाएको छ । व्यवसायीहरूले सरकारी निगरानी छल गरी चोरीका सामानहरू उधारोमा सीमा नजिक रहेका नेपाली बजारमा पु-याउने पाइएको छ । यसरी बजारमा पु-याउने प्रक्रियामा सरकारी संयन्त्रको पनि संलग्नता रहने गरेको मन्त्रालयको अध्ययनले बाहिर ल्याएको छ । ‘सरकारी संयन्त्रसँग मिलेर तिनीहरूले उधारोमा वा भुक्तानी सङ्कलन गरी आफ्नो नाफा सुरक्षित गर्छन्’ प्रतिवेदनमा उल्लेख छ । 

चोरीका सामान आकर्षक मूल्यमा उपलब्ध हुँदा स्थानीय जुत्ता बिक्रेता पनि चोरीका सामानमा लालायित हुने पाइएको छ । कतिपय अवस्थामा भन्सार नाकाबाटै पनि ठुलो मात्रामा जुत्ताचप्पल चोरी हुने गरेको पाइएकाले तस्करी समूहहरू भित्रको सङ्गठन र समन्वयको उच्च स्तरलाई जनाउने उल्लेख छ । ठुलो मात्रामा तस्करीमा संलग्न समूहहरू बढ्दै जानु झन् डरलाग्दो बनेको मन्त्रालयको निष्कर्ष छ । 

भन्सार नाकामार्फत वैध रूपमा आयात भएका जुत्ताको पनि न्यून बिजकीकरण हुने हुँदा सरकारले त्यसबाट पनि ठुलो राजस्व गुमाउनु परेको पाइएको छ । विगत केही वर्षको आयातको प्रवृत्ति विश्लेषण गर्दा नेपालमा आयात हुने धेरै जुत्ताको आयात मूल्य चार सय रुपियाँभन्दा कम पाइएको छ । यस्ता जुत्ताको स्वदेशी मूल्य एक हजार रुपियाँ भए पनि ६०० रुपियाँ कम मूल्याङ्कन भएको पाइएको हो । महँगो जुत्ता भने तथ्याङ्कबाट नै हराएको छ । 

नेपालमा अहिले करिब एक हजार पाँच सय जुत्ताचप्पल उद्योग स्थापना भएका छन् । आन्तरिक बजारको करिब ६० प्रतिशत माग यी उद्योगले धान्छन् । यी उद्योगबाट करिब ५५ हजारले रोजगारी पाएका छन् । प्रतिश्रमिक दैनिक तीन वटा जुत्ता उत्पादन हुने नेपाल जुत्ता उत्पादक सङ्घको तथ्याङ्क छ । वार्षिक १६ करोड जोर जुत्ता उत्पादन क्षमता भए पनि चोरी तस्करीका कारण ३५ प्रतिशत मात्र क्षमतामा यी उद्योगहरू सञ्चालनमा रहेको पाइएको छ । 

उद्योगहरूमा अहिलेसम्म करिब ३० अर्ब रुपियाँ लगानी भएको अनुमान छ जसमध्ये बैङ्क ऋण करिब चार अर्ब रुपियाँ हाराहारीमा छ । वार्षिक करिब पाँच करोड जोर जुत्ता निर्यातको सम्भावना रहे पनि तस्करीका कारण उद्योगहरू थला परेका छन् । उद्योगमा करिब ७० प्रतिशत भारतीय कामदार छन् जसले मासिक ४० हजार रुपियाँभन्दा बढी तलब पाइरहेका छन् ।  

‘तस्करीले गर्दा उद्योग करिब बन्द छन्’ 

 नानीराज घिमिरे

अध्यक्ष, नेपाल जुत्ता उत्पादक सङ्घ

अहिले नेपालका धेरै जुत्ता उद्योग १५/२० प्रतिशत क्षमताको हाराहारीमा मात्र सञ्चालित छन् । यो भनेको करिब बन्द जस्तै नै हो । तस्करीले गर्दा यस्तो अवस्था आएको हो । अर्कोतिर न्यून बिजकीकरण र चर्चित ब्रान्डको टे«डमार्क चोरी गर्ने प्रवृत्तिले नेपाली जुत्ता उद्योग समस्यामा छन् । यसले गर्दा राज्यले धेरै राजस्व त गुमाउनु परेको छ नै उद्योग नचल्दा ठुलो सङ्ख्यामा रोजगारी पनि गुमिरहेको छ । भन्सार नाका तथा पसलहरूमा अनुगमन, निरीक्षण र कडाइ नगर्ने हो भने उद्योग सञ्चालन हुनै नसक्ने अवस्था बनिसकेको छ । सरकार यसमा गम्भीर हुनै पर्छ ।