सिराज खान
नेपालगञ्ज, साउन १९ गते । महिला बेचबिखनविरुद्ध सक्रिय रहेको एक संस्थाले एक वर्षमा बाँकेका विभिन्न नाकाबाट २८८ जना महिला, किशोरी तथा बालबालिकाको उद्धार गरेको छ ।
शान्ति पुनःस्थापना गृह नेपालगञ्जले जिल्लाका विभिन्न नाकाबाट गत आर्थिक वर्ष २०७९/८० मा मानव बेचबिखन तथा ओसारपसारको अत्यधिक जोखिमा रहेका २८८ जना महिला, किशोरी तथा बालबालिकाको उद्धार गरेको जनाएको छ ।
शान्ति पुनःस्थापना गृह नेपालगञ्जका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले उद्धार गरिएकामध्ये सबैभन्दा बढी जमुनाहा नाकाबाट २३३ जनाको उद्धार गरिएको बताउनुभयो ।
उहाँले जानकी गाउँपालिकाको शिवपुरी नाकाबाट २२, डडुवा गाउँपालिकाको खडैचा नाकाबाट १२, नरैनापुर गाउँपालिकाको सुइया/बगौडा नाकाबाट चार र कोहलपुर नगरपालिकाको बसपार्कस्थित रहेको सूचना तथा परामर्श केन्द्रबाट १७ जनाको उद्धार गरिएको जनाउनुभयो ।
क्षेत्रीय संयोजक सुवेदीका अनुसार उद्धार गरिएकामध्ये बाँकेका ५८, बर्दियाका ४२, सुर्खेतका २८, जाजरकोटका २०, दैलेखका १८, दाङका १७, सल्यानका १७ गरी ३९ जिल्लाका महिला तथा किशोरी र बालबालिका छन् ।
संस्थाको बाँके जिल्ला कार्यक्रम संयोजक सिर्जना गौतमले एक वर्षको अवधिमा बाँकेमा रहेका चार वटा सूचना तथा परामर्श केन्द्रबाट ६४ जिल्लाका छ हजार ३४० जनालाई सूचना तथा परामर्श दिएको बताउनुभयो ।
उहाँले एक वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी चारवटा मुद्दा दर्ता भएको जनाउँदै खुला सीमा भएको कारण र समुदायस्तरमा प्राप्त मात्रामा सचेतनाका कार्यक्रम सञ्चालन गर्न नसकिएको कारण मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण रहेको बताउनुभयो ।
शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक सुवेदीका अनुसार छिटो धनी बन्ने चाहना, देखासिकी, अवसरको खोजी र आर्थिक समस्याका कारण अधिकांश महिला र किशोरी बेचबिखनको जोखिममा फस्ने गरेका छन् ।
उहाँले आधुनिक प्रविधिको प्रयोगसँगै दैनिक नयाँ–नयाँ तरिका प्रयोग गरेर दलालले बेचबिखनमा लैजाने गरेकाले नियन्त्रणमा समस्या रहेको बतानुउभयो ।
गत आर्थिक वर्ष २०७९/८० मा भारतका विभिन्न स्थानमा जोखिममा परेका २२ जनालाई उद्धारपश्चात् स्वदेश फिर्ता गरिएको तथा संस्थामा खोजतलासका लागि परेका १७२ निवेदनमध्ये १२४ जनालाई खोजेर आफन्तको जिम्मामा लगाइएको शान्ति पुनःस्थापना गृह नेपालगञ्जले जनाएको छ ।
बाँकेको नरैनापुरस्थित सुईया/बगौडा नाका, डुडुवास्थित खडैचा नाका, जानकीस्थित शिवपुरी नाका, नेपालगञ्जस्थित जमुनाहा नाका र कोहलपुरको बसपार्कमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी संस्थाले बेचबिखन रोकथाम अभियान सञ्चालन गर्दै आएको जनाइएको छ ।