• १३ साउन २०८१, आइतबार

पर्यटक लोभ्याउँदै मनमोहक मौलिक चौमुखे घर

blog

दैलेखको भगवतीमाई गाउँपालिका –४ डौंरी मनघरमा रहेको मौलिक घर । तस्बिर : विशाल सुनार

बिशाल सुनार

दुल्लु (दैलेख), साउन १८ गते । तस्बिरमै हेरिरहुँजस्तो लाग्ने, जोकसैको मन जित्ने मनमोहक मौलिक चौमुखे घरले पर्यटकलाई आकर्षित गरिरहेको छ । जिल्लाको पूर्वी प्रवेशद्वारको रूपमा भगवतीमाई गाउँपालिका–४ मनघरका नरेन्द्रजंग शाहीको घर हो यो । 

२७ वर्षअघि बनेको यो घर मध्यपहाडी राजमार्ग नजिकै रहेकाले आउजाउ गर्नेहरू टक्क रोकिएर हेर्छन्, कोहीले २ मिनेट पैदल हिँडेर घरको फोटो खिच्छन् । सुयडा र कचाली लेकको काखमा अवस्थित मनघर गाउँ पश्चिमतर्फ फर्किएको छ । खासगरी घर छाउने पत्थरको खानी र सुन्दर घरहरू नै मनघर गाउँको परिचय हो । सफा र चिटिक्क परेका मौलिक शैलीमा निर्माण गरिएको घरहरू मनमोहक देखिन्छन् ।

सदरमुकाम दैलेखबजारदेखि ३५ किलोमिटर मध्यपहाडी राजमार्गको मनोरम यात्रापछि मनघर गाउँ पुग्न सकिन्छ । 

 जिल्ला सदरमुकाम दैलेखबजारदेखि ३५ किलोमिटर मध्यपहाडी राजमार्गको मनोरम यात्रापछि मनघर गाउँ पुग्न सकिन्छ । मनघर गाउँकै पहिचान प्रतिष्ठितमा थप उचाइ थप्ने घर बनेको छ डौंरीटोलको चारै दिशा दैलो भएको चौमुखे घर । नरेन्द्रजंग शाहीको चारमुखे घर पछिल्लो समय चौतर्फी चर्चा बटुलिरहेको छ । 

त्यसो त मनघरमा थुप्रै मौलिक शैलीका घरहरू अरू नभएका हैनन् । तर चारमुखे र दश पाखो भएको घर अन्य ठाउँमा देख्न पाइँदैन । उमेरले ८१ वर्ष पार गर्दैगरेका नरेन्द्रजंग र उहाँकी धर्मपत्नी नन्दादेवी शाही घरमा बास्दै आउनुभएको छ । 

पाँच छोरा, चार छोरी गरी उहाँका नौ सन्तान छन् । चार छोरीहरू विवाह गरी आफ्नै घर व्यवस्था गरिसकेका छन् । जेठो छोरा छुट्टिएर अलग्गै घर बनाइसकेकाले बाँकी चार छोराका लागि उहाँले घर बनाइदिनुभएको छ। 

चार दैला कुरुन् भन्ने ठान्नुभएका नरेन्द्रजंगले भन्नुभयो, “छोराहरू रोजीरोटी, व्यापार वा कामविशेषले सहरतिर छिरे । उनीहरूका पनि आफ्नै परिस्थितिले सहर पसे, घर कुर्न हामीले परेको छ । चाडपर्व र कुलायनपूजाको बेला बाहेक अरू बेला घर सूनसान नै हुन्छ । 

१६ कोठा, १ मुख्य दलानसहित ११ ढोका, ४० झ्यालसहित ५१ वटा साना ठुला झ्यालढोका रहेको छ । तत्कालीन समयमा करिब ६ देखि ७ लाख लागत हाराहारीमा खर्च भएको नरेन्द्रजंगले बताउनुभयो । स्थानीय प्रेमबहादुर र धनबहादुर बुढा डकर्मीले निर्माण गरेको हो । 

दुर्गम गाउँमा सडक सञ्जालको पहुँच पुगेसँगै पक्की अर्थात् कङ्क्रिट, सिमेन्ट, सरियाको घर बनाउने होडकोबिचमा आकर्षक शैलीमा मौलिक घर बनेको देख्दा घर हेर्न आउनेको सङ्ख्या बढ्दो छ । 

“देउला डाँडा होस् या कालिका मन्दिर नजिक गाडी रोकियो भने घर हेर्न आए भनेर थाहा हुन्छ” नन्दादेवी शाहीले भन्नुभयो, “पहिले हेर्न आउँदैन थिए, आजकल घरमै पनि आउनेगरेका छन् । यो बाटो भएर हिँड्ने हरकोहीले घर हेर्न आउने र विभिन्न किसिमको जिज्ञासा राखेको देख्दा खुसी लाग्छ ।”  

चारमुखे घर चारैतर्फबाट हेर्दा एकैखालको देखिन्छ । स्थानीय कालिगड, स्थानीय स्रोत, स्थानीय पत्थर, स्थानीय चुन र माटो सबै स्थानीय नै हुन् । शैलीको हिसाबले मौलिक मात्र हैन, वैदिक विधिअनुसार निर्माण गरिएको छ । घरको मूलद्वारा उत्तरपूर्व राखेर निर्माण गरिएको छ । 

पहिले हेर्न आउँदैन थिए, आजकल घरमै पनि आउनेगरेका छन् ।

उत्तर दिशा हिमाल, शीतलता, कुबेरको निवासस्थल, लक्ष्मी वा धनधान्यको स्थान हो । त्यस्तै, पूर्व दिशा ज्ञान, विवेक, सभ्यता केन्द्र मानिन्छ । सूर्यको प्रकाश पुगेको ठाउँमा भूतप्रेत वा नकारात्मक तत्त्वको बास हुँदैन भन्ने मान्यता छ । लामो र छोटो दिनका दौरान हरेक कोठामा सूर्यको प्रकाशलाई पुग्नेगरी घरको डिजाइन गरिएको छ ।

चाडपर्वको बेला घरमा रमझम र भरिभराउ हुनेगरेको भए पनि शाही दम्पतीको बढ्दो उमेर र लाखापाखा लागेको सन्तानका कारण घर जीर्ण प्राय बन्दैगएको छ । स्थानीय मूलबाटोलाई थप व्यवस्थित गर्न सक्ने हो भने आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने स्थानीयको भनाइ छ ।