• १३ साउन २०८१, आइतबार

व्यावसायिक कागती खेतीबाट मनग्गे आम्दानी

blog

तुलसीपुर उपमहानगरपालिका –३ भट्टेमा कृषक कर्णबहादुर वलीले गर्नुभएको व्यावसायिक कागती खेती । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, साउन १८ गते । सरकारी जागिरको अवधि सकिएपछि दाङमा एकजना व्यक्ति व्यावसायिक कागती खेतीमा लाग्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका –३ भट्टे निवासी कर्णबहादुर वली विगत चार बर्षदेखि व्यावसायिक कागती खेतीमा लाग्नुभएको हो । 

सरकारी जागिरबाट पेन्सनमा निस्किएपछि बचेको समय कृषि पेसामा लाग्नुभएका वलीले करिब ५ कट्ठा जमिनमा कागती खेती गर्दै आउनुभएको छ । व्यावसायिक तरकारी खेतीसँगै कागती खेतीमा लागेका वलीले आम्दानी लिन थालेको बताउनुभयो । पहिलो बर्ष करिव २ क्विन्टल कागती बिक्री गर्नुभएका वलीले यो वर्ष त्यसको दोब्बर बढी फलेको बताउनुभयो ।  

गत बवभन्दा यसवर्ष कागती राम्रो फलेको र अझै फल्ने क्रम भइरहेकाले आम्दानी  बढ्ने उहाँको आशा छ । किसान वलीले भन्नुभयोे, ‘पहिलो वर्ष करिव दुई क्विन्टल कागती बिक्री गरेको थिएँ, थोरै भए पनि सुरुकै वर्ष राम्रै आम्दानी भएको थियो । यो वर्ष झन् धेरै भएकाले आम्दानी बढी हुने आशा छ ।’ 

धेरै मेहनत नलाग्ने र विक्रीका लागि पनि समस्या नहुने भएकाले कागती खेती गर्न सुरु गरेको वलीको भनाइ छ । कागती खेतीबाट राम्रो आम्दानी हुने देखेपछि बर्सेनि बोटहरु समेत बढाउँदै लग्ने सोचमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चार वर्षअघि ८० वटा बिरुवा रोपेर व्यावसायिक कागती खेती सुरु गरेको थिएँ, तर पाँचवटा बिरुवा सुरुमै मरेपछि ७५ वटा मात्रै बिरुवा बचे । अहिले तिनै बिरुवाहरु फल्न सुरु गरेका छन् । गतवर्ष फेरि २५ बिरुवा थप गरेर सय बिरुवा पुगेको छ ।’ 

उहाँले तुलसीपुर उपमहानगरपालिका कृषि शाखाले अनुदानमा निःशुल्क रुपमा ८० वटा बिरुवा उपलव्ध गराएपछि पहिलो वर्ष रोप्नुभएको थियो । जिल्लामा कागती बिक्रीका लागि कुनै समस्या नहरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय कागती माग बढ्दै गएको छ, मागको तुलनामा जिल्लामा उत्पादन नहुँदा बाहिरबाट आउने गरेको छ । कागती बिक्रीका लागि समस्या छैन, जति उत्पादन गरे पनि बिक्री हुने अवस्था छ ।’ 

कागती खेतीसँगै व्यवसायी तरकारी खेती समेत गर्दै आउनुभएको छ । २८ वर्ष राष्ट्रिय अनुसन्धान प्रहरीमा जागिरे जीवन बिताउनुभएका ५२ वर्षीय वलीले एक बिघा जमिनमा तरकारी र फलफूल खेती गर्नुभएकोे छ । 

प्राङ्गारिक मलको प्रयोग गरेर तरकारी खेती गर्दै आउनुभएका वलीले व्यावसायिक टमाटर खेतीका लागि १६ वटा टनेलभित्र थोपा सिंचाइँको समेत व्यवस्था गरेर टमाटर खेती गर्दैआएको बताउनुभयो । आफुले मात्रै खेतीमा नभ्याउने भएकाले तरकारी रोप्ने, गोडमेल र टिप्ने समयमा मानिसहरु लगाउने गर्नेगरेको बताउने वलीले भन्नुभयो, ‘कागती र तरकारी खेती राम्रो हुँदैगएको छ ।’ 

कामको आवश्यकताअनुसार मान्छेहरु पनि लगाउने गरेको छु उहाँले भन्नुभयो । रासायनिक मल प्रयोग नगर्ने र खासगरी बेमौसमी टमाटर उत्पादन गर्ने भएकाले टमाटर विक्रीमा समस्या नभएको उहाँले बताउनुभयो । रासायनिक मलको विकल्पमा किसानले भर्मी कम्पोष्ट मल खेतीमा प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।