• २२ वैशाख २०८१, शनिबार

सङ्घीय संसद्को भ्रमण भित्र पसेपछि यो यो

blog

रिसित केसी

कक्षाः ८, काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल

नयाँ बानेश्वर, काठमाडौँ 

हाम्रो विद्यालयले व्यावहारिक ज्ञान दिन बेला बेलामा विभिन्न ठाउँको भ्रमण गराउने गर्दछ । यसै क्रममा यस पटक हाम्रो सामाजिक शिक्षा विषय अन्तर्गत भ्रमण गराउँदा सङ्घीय संसद्बारे जानकारी दिन संसद् भवन लग्यो ।  संसद्ले कसरी काम गर्छ भन्ने स्पष्ट पार्न हामीलाई संसद्को अवलोकन भ्रमण गराइयो । 

मेरो विद्यालय काठमाडौँ प्रज्ञा कुञ्ज नयाँ बानेश्वरस्थित सङ्गम चोकमा छ । यहाँबाट सङ्घीय संसद्सम्मको दुरी त्यति धेरै छैन । त्यसैले दिउँसोको करिब ३:०० बजे हाम्रो विद्यालयका कक्षा ८ का हामी विद्यार्थी लामबद्ध भएर संसद् भवनका लागि निस्कियौँ । हामीसँगै सुजना गुरुआमा, मनीषा म्याम, उषा म्याम र कृष्ण सर पनि हुनुहुन्थ्यो ।

संसद् भवन जति नजिकिँदै थियो, मेरो मनमा यहाँभित्र कस्तो होला भनेर कौतुहल बढ्दै गएको थियो । संसद् भवनभित्र पुग्दा निकै खुसी भएँ । मनमनै यो अवसर जुराइदिने हाम्रो विद्यालयलाई धन्यवाद पनि दिएँ । हामीले हाम्रो सामाजिक शिक्षा विषयमै संविधान भनेको देशको मूल कानुन हो भनेर पढेका थियौँ । अनि देशको मूल कानुन यही भवनमा बसेर सांसदहरूले बनाउनुभएको रे भन्ने पनि मैले सुनेको थिएँ । त्यसैले संसद् भवनमा आफू  पुग्न पाउँदा मैले ठूलो अवसर पाएँ भन्ने लागिरहेको थियो । 

संसद् भवनको मुख्य हलमा जानुअगाडि हामीलाई त्यहाँका एक कर्मचारीले भित्र जाँदा धारिलो वस्तुहरू लैजान नपाइने, कालो मास्क लगाउन नपाइने, सांसदहरूले बोल्नुभएका कुरा सुनेर ताली बजाउन नपाइने, उहाँहरूको कुरा चित्त बुझेन भने हुटिङ गर्न नपाइने जस्ता नियमहरू बताउनुभयो । अनि हामीभित्र छि-यौँ । त्यहाँ हल रित्तो थियो । हामीले निकै बेर कुरेपछि त्यहाँ विस्तारै सांसदहरू आउन थाल्नुभयो । 

संसद्मा सबैभन्दा ठुलो सभामुख हुनुहुन्छ भन्ने पनि सुनेको थिएँ । केही समयपछि उहाँ पनि आउनुभयो । संसद् सुरु भएपछि विस्तारै सांसदहरूले विभिन्न विषयमा बोल्न थाल्नुभयो । उहाँहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा बोल्नुभएको कुरालाई लिएर विरोध जनाइरहनुभएको थियो । 

त्यति बेला प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन एक व्यक्ति धेरै पटक दिल्ली धाउनुभएको बताउनुभएको थियो । यही विषयमा विरोध भएपछि संसद् रोकिएको थियो । संसद्मा भएका होहल्ला र नाराबाजी हामीले टेलिभिजनमा मात्र देखेका थियौँ । त्यस दिन पनि झन्डै त्यस्तै अवस्था हामीले प्रत्यक्ष देख्यौँ ।  यसरी देशको नीति नियम बनाउने ठाउँमा सांसदहरूले विरोध र हल्ला गरेको देख्दा निकै नरमाइलो पनि लाग्यो । विभिन्न विषयमा सधैँ विरोध र असन्तुष्टि मात्र जनाउनुभन्दा पनि देशको विकास गर्नका लागि राम्रा नीतिहरू बनाउन ध्यान दिनु पर्छ भनेर हाम्रो सांसदहरूलाई कसैले सम्झाइदिए पनि हुन्थ्यो भन्ने लाग्यो । 

संसद्मा यस्तो होहल्ला चलेर अवरुद्ध भएपछि संसद् ७ बजेसम्मका लागि स्थगित भएको सूचना सुनाइयो । ७ बजेसम्म बस्दा हामीलाई घर जान निकै ढिला हुने भएकाले हामी हल बाहिर निस्कियौँ । बाहिर हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उहाँसँग अटोग्राफ लिनुका साथै फोटो पनि खिचायौँ । 

मेरा साथीहरूले मसँग कलम मागेर लगेका थिए । पछि कलम ल्याएर दिँदै हामीले त सांसद विनोद चौधरीलाई भेटेर उहाँसँग अटोग्राफ लिएको भने तर मैले त्यो कुरा पत्याइन किन कि मैले सधैँ युट्युबमा विश्वका अर्बपतिहरूको सूचीमा उहाँ पनि पर्नु हुन्छ भन्ने हेरेको थिएँ । त्यति ठुलो मान्छेलाई साथीहरूले भेटेको भन्दा मैले विश्वास गरिन तर पछि विद्यालयको फेसबुक अकाउन्टमा हाम्रो भ्रमणको तस्बिरहरूमा साथीहरूलाई सांसद चौधरीसँग बसेको देखेर म छक्क परेँ । 

साथीहरूलाई कलम दिँदा म पनि उनीहरूसँगै गएको भए मैले पनि उहाँलाई देख्न र भेट्न पाउँथे कि भनेर निराश भएँ । पछि आफ्नै मनलाई सम्झाएँ । मैले मेहनतका साथ पढेर ठुलो मान्छे भएँ भने उहाँ र उहाँ जस्ता देशलाई योगदान गर्ने थुप्रै महान् व्यक्तित्वसँग भेट्न पाउने छु भन्ने आशाका साथ संसद् भवन बाहिर आएँ । बाहिर गेटकै छेउमा मलाई कुरिरहनु भएका मेरा बाबालाई देखेर मन खुसी भयो । अनि हामी घर आयौँ ।