• १३ साउन २०८१, आइतबार

तराईमा फैलँदै ‘लम्पी स्किन’

blog

काठमाडौँ, साउन १८ गते । ‘लम्पी स्किन’ रोगबाट हालसम्म एक लाख ८३ हजार ८०१ पशु सक्रिय सङ्क्रमित अवस्थामा रहेका छन् । पशु सेवा विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ११ लाख ४९१ पशु सङ्क्रमित भएका छन् । 

त्यसमध्ये ४८ हजार ८८० पशुको मृत्यु भएको छ भने आठ लाख ६७ हजार ८१० पशु निको भएका छन् । ‘लम्पी स्किन’ महामारी रूप लिएपछि विभागले निजी क्षेत्रलाई खोप खरिद गर्न अनुमति दिएको थियो । हालसम्म विभागको सिफारिसमा निजी क्षेत्रबाट १० लाख ३७ हजार डोज खोप आयात भइसकेको छ । 

मनाङ र मुस्ताङमा पूर्ण रूपले रोग नियन्त्रणमा आइसकेको छ भने अन्य पहाडी जिल्लामा पनि रोग नियन्त्रणमा रहेको विभागले जनाएको छ । मधेशका जिल्लामा रोग अझै बढ्दै गइरहेको बताइएको छ । 

विभागका प्रवक्ता डा. चन्द्र ढकालले हालसम्म तीन लाख ५० हजार ९२६ वटा पशुमा खोप लगाइसकेको जानकारी दिनुभयो । कोशी प्रदेशका २५ वटा पालिकामा कार्यरत पशु चिकित्सकसँग भएको छलफल अनुसार प्रदेशका पहाडी जिल्लाका रोग नियन्त्रणमा आइसकेको उहाँले बताउनुभयो । कोशी प्रदेशले खोप खरिदका लागि ५० लाख, आकस्मिक रोग नियन्त्रणका लागि हरेक जिल्लामा दुईदेखि तीन लाख र मन्त्रालयले ६० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । 

मधेश प्रदेशमा रोगको सङ्क्रमण वृद्धि हुने क्रम जारी रहेको विभागले जनाएको छ । मधेश प्रदेशमा ६४ हजार खोप खरिद गरिसकेको र खोप लगाउनका लागि प्राविधिकलाई तालिम पनि दिइसकेको जानकारी गराउँदै प्रवक्ता ढकालले साउन १५ देखि सप्ताहव्यापी रूपमा खोप कार्य सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । मधेश प्रदेशले खोप खरिदका लागि ५० लाख, आकस्मिक रोग नियन्त्रणका लागि हरेक जिल्लामा पाँच लाख बजेट विनियोजन गरेको छ । 

गण्डकी प्रदेशले खोप खरिदका लागि एक करोड बजेट विनियोजन गरेको छ । गत आवमा खरिद गरिएको खोप कार्य सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ । 

त्यस्तै बागमती प्रदेशले खोप खरिदका लागि ६५ लाख, आकस्मिक रोग नियन्त्रणका लागि हरेक जिल्लामा पाँच लाख बजेट विनियोजन गरेको विभागले जनाएको छ । त्यहाँ साउन २५ देखि ३१ सम्म सप्ताहव्यापी रूपमा खोप कार्य गर्न भ्यास्किनेटर नियुक्त भएको विभागले जनाएको छ । 

लुम्बिनी प्रदेशमा खोप खरिदका लागि दुई करोड ८३ हजार बजेटको व्यवस्था गर्न लागेको जनाउँदै विभागले सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा रोग नियन्त्रणको क्रममा रहेको जानकारी गराइएको छ तर त्यहाँ तराईका जिल्लामा रोग देखिन थालेको बताइएको छ ।