काठमाडौँ, साउन १८ गते । काठमाडौँ महानगरपालिकाले डेङ्गुको रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ । महानगरले डेङ्गुको रोकथाम र नियन्त्रणका लागि सबै वडामा एकै पटक लामुखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।
महानगरका प्रवक्ता नवीन मानन्धरले मुलुकभरि नै डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएपछि पानी जमेका ठाउँमा लामखुट्टेका लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने अभियान सुरु गरिएको जानकारी दिनुभयो ।
अभियानका क्रममा बुधबार काठमाडौँको शान्तिनगर, ताहाचल, लैनचौर, जैसीदेवल, घट्टेकुलो, मैतीदेवी, नागपोखरी, सुनारगाउँ, कुलेश्वर, धोबीचौर, टङ्गाल, भेडासिंह, मच्छिन्द्रबहाल, भैरवस्थान, कालोपुल, कङ्केश्वरी, इनाटोल, लाजिम्पाट, भृकुटीमण्डप, इटुम्बहाल, इनद्रचोकलगायतका क्षेत्रमा लामुखुट्टेको लार्भा नष्ट गरियो । महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले लामखुट्टे हुर्कनका लागि पानी जम्न दिन नहुने बताउनुभयो । महानगरपालिकाले डेङ्गुबारे परामर्श तथा जानकारी दिन चौबिसै घण्टा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । यसका लागि ११८० मा फोन गर्न सकिने जानकारी दिइएको छ ।