• १३ साउन २०८१, आइतबार

९० रोपनी धानखेतीमा क्षति

blog

सर्केगार्ड गाउँपालिका –२ को रिप गाउँको खेतमा पहिराले गरेको क्षति । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, साउन १७ गते । सर्केगार्ड गाउँपालिकाका तीन वटा गाउँमा ९० रोपनी जग्गामा लगाइएको धान तथा कोदोखेतीमा पहिरोले क्षति पुगेको छ । गत शुक्रबार राति गएको पहिरोले उक्त गाउँपालिकामा रोपाइ सकेर गोडमेल गर्ने तयारी भएको धान र गोडमेल गरेको कोदोखेतीमा क्षति पुगेको हो । 

सर्केगार्ड गाउँपालिका –२ का कालीबहादुर महताराले ३० रोपनीमा रोपाइ सकेर गोडमेल गर्ने समय भएको धान खेतमा क्षति पुगेको बताउनुभयो । उहाँले माथिबाट आएको पहिरोले धान रोपेको खेत नै बगाएका कारण क्षति भएको बताउनुभयो । यसबाट रिप गाउँका सीता परियारको पाँच वटा खेत पहिरोले बगाएको छ । 

यता, सोही गाउँपालिका –३ का उनापानी गाउँका दानबहादुर फडेराले जिउलामा पहिरोले २० रोपनी धान र कोदोखेती गरिएको जग्गामा क्षति पुगेको बताउनुभयो । जिउलाको उनापानी खोला छेउको खेतको धान बगाएर लगेको छ । धान लगाएर खेत नै बगाएर लगेपछि किसान चिन्तित बनेको उहाँले बताउनुभयो । 

सर्केगार्ड गाउँपालिका –८ को राहदेब गाउँको ४० रोपनी जग्गामा लगाएको चिनो, कोदो, सिमी, भटमासलगायतका बालीमा क्षति पुगेको सर्केगार्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर रावतले बताउनुभयो । जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले एउटै गाउँपालिकाको तीन वटा गाउँमा गरी ९० रोपनी जग्गामा लगाएको धान बालीमा क्षति पुगेको बताउनुभयो । 

त्यसैगरी पहिरोले सर्केगार्ड गाउँपालिका –६ को छ्यागी गाउँमा एउटा कृषि फार्ममा लगाएका १५० बोट स्याउ र ५० बोट दाँते ओखर बगाएको छ ।