• १३ साउन २०८१, आइतबार

नार्क सुधारका लागि ऐन, नियम संशोधन जरुरी

blog

काठमाडौँ, साउन १७ गते । कृषि पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा देखिएका समस्या समाधान गर्ने गरी ऐन, नियमावली, विनियमावली संशोधन भइरहेको बताउनुभएको छ । 

नार्कको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री भुसालले कृषि तथा पशुपन्छी क्षेत्रको मुख्य अङ्ग अनुसन्धान हो र यसलाई बलियो बनाए मात्र समग्र कृषि क्षेत्रको विकास हुने भएकाले यसका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । नार्कका अध्यक्षसमेत रहनुभएका मन्त्री भुसालले ऐन संशोधनलगायत नार्कको समग्र सुधारका लागि अध्ययन गर्न बनेको उच्चस्तरीय समितिले प्रतिवेदन दिनेबित्तिकै नार्कको सुधारका लागि मन्त्रालय अघि बढ्ने बताउनुभयो । 

“नार्कलाई सुधार गर्दै कृषि क्षेत्रको अनुसन्धानका लागि काम तपाईंहरूले नै गर्ने हो, त्यसका लागि हामीले सहजीकरण गर्ने मात्र हो,” उहाँले कर्मचारीलाई सम्बोधन गर्दै भन्नुभयो, “नार्क कसरी राम्रो हुन्छ, राम्रा राम्रा अनुसन्धान कसरी गर्न सकिन्छ, ती सबै गर्ने जिम्मेवारी तपाईंहरूको हो र त्यसमा मन्त्रालयले के सहजीकरण गर्नु पर्छ, त्यो तपाईंहरू भन्नुस्, हामी सबै गर्न तयार छौँ ।” नार्कबाट जति अनुसन्धान हुनुपर्ने हो त्यति अनुसन्धान नभएको बताउँदै उहाँले धानमा निकै कम अनुसन्धान भएको बताउनुभयो । 

धानमा नार्कले ३५ प्रतिशत मात्र अनुसन्धान गरेको छ । धान उत्पादनमा वृद्धि गर्नका लागि अनुसन्धानमा थप जोड गर्नुपर्ने बताउँदै मन्त्री भुसालले अनुसन्धान जति राम्रो हुन्छ त्यति नै उत्पादनमा वृद्धि हुने बताउनुभयो । 

नार्कले गहुँमा ९०, मकैमा ७०, आलुमा ४५, मसुरोमा ६० प्रतिशत जातको विकास गरेको छ । त्यसको तुलनामा धानका लागि निकै कम अनुसन्धान भएको मन्त्री भुसालले बताउनुभयो । 

नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले नार्कको समग्र अवस्थाबारेमा आफ्नो प्रस्तुति दिनुभएको थियो । पुराना ऐनलाई संशोधन गरी अहिलेको परिवेशमा ऐन बनाउनुपर्ने कुरामा जोड दिँदै उहाँले अहिले पनि नार्कले श्री ५ सरकार लेखिएको ऐन प्रयोग गरिरहेको र त्यसलाई तत्कालै संशोधन गर्नुपर्ने कुरामा जोड दिनुभयो । नार्कका वैज्ञानिकहरू काम गर्न उत्सुक छन् तर सरकारका तर्फबाट त्यो अनुसारका सहजीकरण नभएको उहाँको गुनासो थियो । 

कृषि मन्त्रालयका सहसचिव डा. राजेन्द्र मिश्रले नार्कलाई अगाडि बढाउनका लागि मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने बताउनुभयो । जबसम्म नार्क बलियो हुँदैन तबसम्म कृषिको विकास गर्न सकिँदैन भन्दै उहाँले नार्कलाई बलियो बनाउनका लागि कृषि मन्त्रालयले हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो । 

कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले कृषिका प्रसार र अनुसन्धान मिल्यो भने कृषिमा धेरै कार्य गर्न सकिने बताउनुभयो । कृषिका लागि अनुसन्धान महत्वपूर्ण हो, कृषि प्रसार र कृषि अनुसन्धानका बिचमा समन्वय हुनु आवश्यक रहेको बताउनुभयो । मौरी र रेसमकिरालगायतमा अझै अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।