• ३० वैशाख २०८२, मङ्गलबार

सबै नेता बिग्रिए भन्नु गलत हुन्छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित कार्यक्रममा सहभागी एमालेका नेताहरू । तस्बिर : सागर बस्नेत

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १५ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेता बिग्रिए भन्दा गलत हुने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित पुस्तक लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

“सबै नेता बिग्रिए भन्ने कुराले समाजमा गलत सन्देश जान्छ, त्यस्तो लेख, रचना सम्प्रेषित नगर्न म साहित्यकारहरूलाई आग्रह गर्छु” उहाँले भन्नुभयो । अरस्तुले कान्छी श्रीमतीको मात्रै दाँत गनेर महिलाको दाँत २८ हुन्छ भनेजस्तै हाम्रा स्रष्टाहरूले सबै नेतालाई बिग्रिएको भन्नु उस्तै हुने उहाँले बताउनुभयो ।

सो अवसरमा उहाँले ‘युगदूत’ नामक पुस्तक विमोचन गर्नुभयो । साहित्यकार वासुदेव अधिकारीद्वारा लिखित ‘सबै नेता बिग्रिए’ शीर्षक कविताको रचनालाई उदृत गर्दै उहाँले सो प्रसङ्ग जोड्नुभयो । 

सिर्जनाकार र लेखकले तथ्यकुरा, सही कुराहरू प्रभावकारी ढङ्गले पस्किनु पर्दछ ।

कतिपय नेताहरू बिग्रिएको कुरा सत्य भए पनि तथ्यलाई आत्मासाथ गरेर साहित्यिक सिर्जना गर्न उहाँले सुझाव दिनुभयो । सबै नेताहरू बिग्रिएको भन्न नमिल्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले राजनीतिमा जे पनि हुन्छ भन्न नमिल्ने बताउनुभयो । राजनीति सबै नीतिहरूको मूल नीति भएकाले यसमा ढाँट छल, धोका आदि हुनै नहुने चर्चा गर्नुभयो ।  

उहाँले भन्नुभयो, “राजनीति भनेको सबै नीतिको मूल नीति हो । राजनीति भनेको भ्रष्ट नीति, छुल्याहा नीति, चुक्लीचाक्लीवाला नीति होइन । राजनीतिमा नहुनुपर्ने कुरा हुनु हुँदैन । राजनीतिमा गर्न नहुने काम पनि गर्न हुने, अपवित्र पनि पवित्र हुने भन्ने हुँदैन ।”

राजनीति नीतिहरूको मुहान भएकाले धमिलो पार्न नहुने उहाँको भनाइ छ । सबै नेता बिग्रिएका होइनन् । हामीले दिशानिर्देश गर्नेखालका रचनाहरू सिर्जना गर्नुपर्छ उहाँले भन्नुभयो । “बुद्धको भनाइ छ– मैले भनेका कुरा पहिले तथ्यहरूसँग भिडाएर हेर, अनि मात्र पत्याऊ । सिर्जनाकार र लेखकले तथ्यकुरा, सही कुराहरू प्रभावकारी ढङ्गले पस्किनु पर्दछ” अध्यक्ष ओलीले भन्नुभयो । 

राजनीतिमा गर्न नहुने काम पनि गर्न हुने, अपवित्र पनि पवित्र हुने भन्ने हुँदैन ।

अध्यक्ष ओलीले नेपालले सामाजिक न्याय र समानताको क्षेत्रमा विकसित देशभन्दा बढी प्रगति गरेको दाबी गर्नुभयो । उहाँले सुन्दर भविष्यतर्फ मुलुक अघि बढिरहेको उल्लेख गर्दै त्यसका लागि तीव्र गतिका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।