गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १५ गते । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझै विश्वसनीय र जनताको सेवामुखी बनाउन आग्रह गर्नुभएको छ ।
नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाईसेवा अन्तर्गतको मध्य एयरवेसको निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरूभन्दा भिन्न रहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले यसको सेवालाई अझै बढी विश्वासिलो र जनताको सेवामा समर्पित गर्न सकिन्छ त्यतातिर बढी ध्यान दिन पनि आग्रह गर्नुभयो ।
अन्य संस्थाको तुलनामा कम सेवा सुविधामा पनि नेपाली सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा पनि हवाई सेवा दिइरहेको भन्दै उहाँले सरकारले सधैँ उच्च मूल्याङ्कन गरिरहेको स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री खड्काले सेनाको हवाई क्षेत्रमा काम गर्ने पाइलटदेखि अन्य सबै कर्मचारीले देशलाई परेको हरेक परिस्थितिमा होस वा विपद् तथा उद्धारका काममा रातदिन खटिएर काम गरेकोमा नेपाली जनताले सधैँ सम्मान गर्ने बताउनुभयो ।
नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन तथा यहाँ काम गर्ने जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार तथा रक्षा मन्त्रालय सधैँ तयार रहने उहाँको भनाइ छ । रक्षामन्त्री समेत रहनु भएका खड्काले भन्नुभयो, “तपाईँहरू एकातिर सैनिक र अर्को तिर हवाई अनुशासनमा बस्ने पेसामा हुनुहुन्छ । तपाईँहरूको देश प्रेम र जनताप्रतिको सेवाभाव सरकारले बुझेको छ, त्यसैले सेवालाई अझै गुणस्तरीय बनाउनुहोस् ।”
उपप्रधानमन्त्री खड्काले नेपाली सेनाका सबै जहाज तथा हेलिकोप्टरहरू २४ सै घण्टा सञ्चालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्न पनि निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “जहाज मर्मत गर्दा पनि धेरै लामो समय ग्राउण्डेड भएर बस्नु पर्ने अवस्था नहोस्, सबै काम पारदर्शी रूपमा छिटो छरितो होस, त्यसका लागि नीतिगत रूपमा कुनै निर्णय गर्नुपर्ने भए सरकार र मन्त्रालय सधैँ तयार रहन्छ ।”