पृथ्वीनारायण शाहको व्रतबन्ध गरिएको मैदीकोट, देशकै प्रसिद्ध जलमुखी मन्दिर र बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभाव क्षेत्र रहेको गाउँपालिका हो, ज्वालामुखी गाउँपालिका। सात वडा रहेको यो गाउँपालिका जिल्ला सदरमुकामदेखि नजिकै र भौगोलिक रूपमा त्यति विकट छैन। यहाँ कृषि, पर्यटन र मझौला उद्योगका दृष्टिले निकै महत्व राख्न सक्ने क्षेत्र रहेका छन्। ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैसँग गोरखापत्रका मुरारी अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
निर्वाचित भएर आएको एक वर्ष पूरा भयो। अहिलेसम्मका कामलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
निर्वाचित भएर आएको केही समय ऐन, नियम, कानुनबारे बुझ्दै, सिक्दै काम गरियो। जनताका अपेक्षा र आवश्यकतालाई प्राथमिकता दिँदै सुशासन र जनमैत्री सेवा प्रवाहमा निकै महत्वपूर्ण काम भएको छ। घर घरमा सिंहदरबारको सेवा भन्ने मूल मन्त्रसहित गाउँवासीको अपेक्षा अनुरूपका योजना छनोट गरी शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारका कार्यक्रम अगाडि बढाएका छौँ।
एक वर्षभित्र भए गरेका महत्वपूर्ण काम के के छन् ?
हामीले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौँ । पुरानो शैलीको शैक्षिक प्रणालीलाई आधुनिक बनाउन गुणस्तर वृद्धिमा जोड दिइएको छ। विद्यालय सङ्ख्याभन्दा गुणस्तरलाई महत्व दिएर विद्यालय समायोजन र दरबन्दी मिलान, विद्यार्थी खाजा, शिक्षक वृत्ति विकास, विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थी छात्रवृत्ति कार्यक्रम जस्ता महत्वपूर्ण कार्यक्रम ल्याइएको छ। कक्षा ११ र १२ का विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि र व्यावसायिक सिप सिकाउँदै आएका छौँ। भौतिक पूर्वाधारतर्फ सातवटै वडामा सडकको पहुँच पु¥याई छोटो समयमै स्वास्थ्य चौकीमा पुगी सेवा लिने वातावरण सिर्जना गरेका छौँ। स्वास्थ्य क्षेत्रमा हामीले लिएको कोखदेखि शोकसम्म ज्वालामुखी सरकार कार्यक्रम प्रभावकारी बनाउन एक वडा, एक स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन, घरमा सुत्केरी शून्य हुने गाउँपालिका निर्माण, मानव स्वास्थ्यलाई ध्यान दिई विद्यालय क्षेत्रलाई पत्रु खाना (जङ्क फुड) निषेध क्षेत्र निर्माण र गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा जस्ता कार्यव्रmम सञ्चालन भएका छन्। अब मैदीमा सुविधासम्पन्न अस्पताल र अन्य वडामा स्वास्थ्य चौकी निर्माण गर्ने योजनामा छौँ। कृषिमा पकेट क्षेत्र निर्माण, मूल सडक कालोपत्रे, ग्राभेल र स्तरोन्नति, महत्वपूर्ण धार्मिक स्थलको संरक्षण र संवर्धन विशेष महत्वका काम हुन्। यसै आर्थिक वर्षदेखि गाउँपालिकाभित्र खानेपानीको समस्या पूर्ण रूपमा हटाउने योजना छ।
जनतासँग गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो ?
निर्वाचनमा हामी निश्चित एजेन्डा बोकेर गएका थियाैँ। त्यति बेला हामीले शिक्षा, स्वास्थ्य, विकास र स्वरोजगारका विषयलाई प्राथमिकता दिएका थियौँ। पहिलो वर्षदेखि हाम्रो ध्यान त्यतातिर नै छ। विगतका राम्रा कामलाई निरन्तरता दिएका छौँ। सडक र खानेपानीका आधारभूत आवश्यकता पूरा गर्न प्राथमिकताका साथ काम गरेका छौँ। युवालक्षित स्वरोजगारी अभियान सुरु गरेका छौँ। गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउने योजना अनुरूप धेरै काम भएका छन्।
सुशासन र जनमैत्री सेवा प्रवाह भन्नुभयो। यो त जनताले अनभूति गरे गरेनन् कसरी भन्न सक्नुहुन्छ ?
हामीले जनताका गुनासा सुन्ने संयन्त्र बनाएका छौँ। हरेक योजना र सेवाप्रदायक निकायले अनिवार्य सार्वजनिक सुनुवाइ गर्नुपर्ने गरी नीतिगत व्यवस्था गरेका छौँ। गाउँपालिका आफैँले प्रत्येक वडामा सार्वजनिक सुनुवाइ गर्ने गरेको छ। उजुरी पेटिका, सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट गुनासो तथा सुझाव दिन पाउने व्यवस्था गरेका छौँ। त्यहाँ सेवा प्रवाह, सुशासनका विषयमा सकारात्मक कुरा आएका छन्।
कृषि र पर्यटन यस गाउँपालिकाका महत्वपूर्ण आधार हुन्। यी क्षेत्रको विकासका लागि योजना के के छन् ?
हामीले कृषि र पर्यटनलाई जोड दिएका छौँ। हाम्रा ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्वका क्षेत्रलाई पर्यटनसँग जोड्ने लक्ष्य छ। सभ्यता र पर्यटन विकासको गुरुयोजना तयार गरी धार्मिक एवं कृषि पर्यटनको विकास गर्ने योजना बनाएका छौँ। कृषिलाई उद्यम र उद्यमशीलतातर्फ अगाडि बढाउन व्यवसायीकरण, यान्त्रिकीकरण गर्दै हरेक कृषि र पशु क्षेत्रलाई पकेट क्षेत्रका रूपमा घोषणा गरी किसानलाई आत्मनिर्भर बनाउने योजना अगाडि बढाएका छौँ।
स्रोतसाधनको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
हाम्रो गाउँपालिकाको आम्दानीको स्रोत कम रहे पनि समुचित विकासका रूपमा लैजाने नीति बनाएका छौँ। गत आवमा दिने भनेको सबै रकम आएको छैन। यसले विकासमा धक्का लागेको छ। हामीले बनाएका योजना कार्यान्वयनका लागि हामी नागरिकसँगै हातेमालो गरी अगाडि बढ्छौँ। आम्दानीका स्रोतको खोज र व्यवस्थापनका लागि हामीले गृहकार्य गरिरहेका छौँ।
प्रदेश र सङ्घीय सरकारसँग तपाईंहरूको समन्वय र सहकार्य कस्तो छ ?
सङ्घ र प्रदेश सरकारले दिने ससर्त अनुदान स्थानीय तहका लागि महत्वपूर्ण छ। सङ्घीय सरकारले ल्याएको बजेटले स्थानीय तहलाई उपेक्षा गरेको अनुभूति भएको छ। बजेटलाई व्यक्ति र पहुँचका भरमा वितरण गर्ने प्रणाली अन्त्य हुनु पर्छ। सुशासनको पद्धतिबाटै बजेट वितरण हुनु पर्छ। गाउँपालिकाका माग सम्बोधन भएन। प्रदेशको बजेट पनि अपेक्षित हुन सकेन। स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने किसिमको भएन। प्राथमिकताका धेरै योजना बजेटले समेट्न सकेको छैन।
तपाईंहरूको आगामी योजना र प्राथमिकता केमा छ ?
ठेकेदारको लापरबाहीले पाल्पा भन्ज्याङदेखि गाउँपालिकासम्म जाने सडक कालोपत्रे हुन सकेको छैन। आगामी वर्ष जसरी पनि सक्नुपर्ने छ। गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न जग्गा व्यवस्थापनको काम सकिएको छ। यसै वर्षदेखि भवन निर्माणको काम अगाडि बढाउने छौँ । पूर्वाधार विकासमा निकै गर्न सकिन्छ भन्ने थियो। आर्थिक स्रोतको कमीले सन्तुष्ट हुने गरी काम गर्न सकिएको छैन।