• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री 'प्रचण्ड' स्वदेश फिर्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि कार्यक्रममा सहभागी हुनु भई स्वदेश फर्कनुहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, साउन  १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि कार्यक्रममा सहभागी हुनु भई स्वदेश फर्कनुभएको छ । उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान अवतरण हुनुभयो ।

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न तथा अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताउनुभएकोे थियो । सो क्रममा उहाँले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहाले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताउनुभएको थियो ।

रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो । उहाँहरूबीच कृषि र जलविद्युत्का क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको थियो । भेटका क्रममा उहाँहरूबीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहाल र विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकनबीच भेटवार्ता भएको थियो । उक्त भेटमा खाद्य सुरक्षा, गरिबी निवारण, महिला तथा मानवीय जीवनको स्तरोन्नतिलगायत विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू तथा इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट [आइएफएडी]का प्रमुख एल्भारो लाइरोले बेग्ला–बेग्लै भेटवार्ता गर्नुभएको थियो ।

रोममा रहँदा प्रधानमन्त्री दाहाल गैरआवासीय नेपाली सङ्घ इटालीले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रममा उहाँले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको थियो ।

भ्रमणका दौरान प्रधानमन्त्री दाहालले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।