• ३० वैशाख २०८२, मङ्गलबार

बाँकेमा १३ हजार युनिटभन्दा बढी रगत सङ्कलन

blog

बिहीबार नेपालगन्जमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत कार्यक्रममा उपस्थित रक्तसञ्चार सेवा केन्द्रका सम्बद्धहरू । तस्बिर: गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, साउन १२ गते । बाँकेमा गत आर्थिक वर्ष २०७९-०८० मा १३ हजार  युनिटभन्दा बढी रगत सङ्कलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँकेले गत आर्थिक वर्षमा उक्त मात्राको रगत सङ्कलन गरेको रक्तसञ्चार सेवा केन्द्रका लुम्बिनी प्रादेशिक प्रमुख तथा रक्तसञ्चार सेवा व्यवस्थापन समिति बाँकेका सदस्य सचिव उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । 

प्रमुख रेग्मीले बिहीबार नेपालगन्जमा रक्तसञ्चार सेवा केन्द्र बाँकेको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो जानकारी गराउनुभएको हो । रेग्मीका अनुसार नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्र नेपालगन्ज र कोहलपुर दुई स्थानमा गरी गत वर्ष १३ हजार तीन सय ७४ युनिट रगत सङ्कलन भएको हो ।

जिल्लामा १५ हजार युनिट रगत सङ्कलन गर्ने लक्ष्य रहे पनि १३ हजार ३ सय ७४ युनिट रगत सङ्कलन भएको रक्तसञ्चार सेवा व्यवस्थापन समितिका सदस्य आलम खानले जानकारी दिनुभयो । गत वर्ष १६ हजार ५ सय युनिट रगत वितरण गर्ने लक्ष्य रहेकोमा १८ हजार ७ सय ५७ युनिट रगत वितरण गरिएको र त्यसबाट १७ हजार ९ सय १५ जना लाभान्वित भएको उहाँले बताउनुभयो ।

त्यसै गरी विभिन्न एक सय घुम्ती शिविर मार्फत ६ हजार ५ सय जना रक्तदातासँग रगत सङ्कलन गर्ने लक्ष्य रहेकोमा एक सय २४ घुम्ती शिविरमार्फत ५ हजार ९ सय २८ जना रक्तदाताले रगत दान गर्नुभएको सदस्य खानले जानकारी दिनुभयो ।

गत वर्ष रक्तसञ्चार सेवा केन्द्रले १३ हजार ३ सय ७४ युनिट रगतमा जीवाणु परीक्षण गरेको र २९ हजार ५ सय ७९ युनिट रगतमा रक्त समूह परीक्षण गरेको रक्तसञ्चार सेवा केन्द्रले जनाएको छ ।

सेवा केन्द्रले विभिन्न समयमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा रक्तदातालाई रगत दान गर्नका निमित्त उत्प्रेरणाका कार्यक्रमहरू गर्दै आएको प्रादेशिक प्रमुख रेग्मीले बताउनुभयो ।

नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट गरी दुई स्थानबाट रक्तसञ्चार सेवा केन्द्रले रगत सङ्कलन तथा वितरण गर्दै आएको छ ।