रेखीराम राना
पाल्पा, साउन १२ गते । छ महिनाअघिदेखि पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको ढोका पहिरोले बगाएको छ। केही दिन अघिदेखि परेको वर्षाले माथिबाट पहिरो खस्दा सुरुङ मार्गको दुवैतर्फ निर्माण सकिएको ढोका पूरै भत्किएको हो।
सुरुङ मार्गको माथिल्लो भाग रामापिथेकसनजिकै निर्माण भइरहेको ढोकामा पहिरोले क्षति पु-याएको निर्माण पक्षले जनाएको छ। ढोकाको ५० मिटर माथिबाट ठुलो चट्टानसहित पहिरो खसेर क्षति पु-याएको आयोजनाका इन्जिनियर युधिष्थिर पन्थीले जानकारी दिनुभयो। यो भागमा निर्माण व्यवसायीले टनेलको ढोका निर्माण गरिसकेको थियो। सुरुङ तल्लो भाग सिद्धबाबा मन्दिरनजिकै बनेको सुरुङ मार्गको ढोकासमेत पहिरोले बगाउँदा तीन महिनाको लगानी खेर गएको छ। बर्सातको समयमा पनि चिनियाँ कम्पनीले सिद्धबाबा सुरुङ मार्गको काम गरिरहेको थियो। बर्सातको समयमा उक्त क्षेत्र पहिरोको अन्यन्तै जोखिमयुक्त क्षेत्र भएकाले मेसिनले थर्काएको जमिन पहिरोका रूपमा खसेको सिद्धार्थ सुरुङ मार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो।
क्षतिग्रस्त सुरुङ मार्गको ढोका पुनर्निर्माण गरेर अघि बढ्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको जैसवालले बताउनुभयो। पहिरो जान सक्ने क्षेत्र भएकाले यो समयमा काम नगर्न भने पनि व्यवसायीले कामलाई निरन्तरता दिँदा समस्या भएको उहाँले बताउनुभयो। सुरुङ मार्गको आकार लिइसकेको ढोका पहिरोले बगाएपछि निर्माणमा ढिलाइ हुने आशङ्का गरिएको छ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठुलो दुर्घटना हुने गरेको छ। वर्षौंदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले गत वर्षदेखि सुरुङ मार्गको निर्माण अघि बढाएको हो।सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको थियो। सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ। सुरुङ मार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ।