• ३० वैशाख २०८२, मङ्गलबार

लुम्बिनी क्षेत्रमा सैनामैना र पण्डितपुर समेट्न प्रस्ताव

blog

बुटवल समाचारदाता

बुटवल, साउन १२ गते   । लुम्बिनी विकास कोषको परिषद् बैठकले रुपन्देहीको सैनामैना र पश्चिम नवलपरासीको पण्डितपुरलाई लुम्बिनी विकास कोष क्षेत्रभित्र समेट्न प्रस्ताव गरेको छ।  बुद्धकालीन समयमा कपिलवस्तु राज्य अन्तर्गत रहेका १० वटा ठुला सहरमध्ये सैनामैना पनि एउटा प्रमुख सहर रहेको र सैनामैना क्षेत्र भगवान् बुद्धको जीवनसँग जोडिएको संस्कृतिविद् डा. गितु गिरीले बताउनुभयो। 

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले रुपन्देहीको सैनामैना र पश्चिम नवलपरासीको पण्डितपुर पुरातात्त्विक  हिसाबले अत्यन्त महत्वपूर्ण रहेको र ती दुवै सहर बुद्धको जीवनसँग जोडिएकाले कोषको क्षेत्रभित्र समेट्न प्रस्ताव गरिएको बताउनुभयो। हाल लुम्बिनी विकास कोषभित्र १० वटा पुरातात्त्विक  क्षेत्र रहेको उल्लेख छ। जसमध्ये रुपन्देहीमा लुम्बिनी र देवदह, कपिलवस्तुमा सात वटा तिलौराकोट, गोटिहवा, निग्लिहवा, सगरहवा, सिसनियाकोट, अरौराकोट, कुदान र नवलपरासी पश्चिमको रामग्राम रहेका छन्।

रुपन्देहीको सैनामैनालाई लुम्बिनी विकास कोषभित्र समेट्ने प्रस्तावले सैनामैनाका स्थानीय खुसी भएका छन्। बुटवलदेखि १४ किलोमिटर पश्चिम र लुम्बिनीदेखि २१ किलोमिटर उत्तरमा रहेको सैनामैना क्षेत्र कोषभित्र समेटिने प्रस्तावले सैनामैनामा रहेका ऐतिहासिक तथा  पुरातात्त्विक  सम्पदाको संरक्षणमा टेवा पुग्ने सैनामैना नगरपालिका उपप्रमुख बीना रानाले विश्वास व्यक्त गर्नुभयो। सैनामैनाको रानीबगिया र वनकट्टा क्षेत्रमा इसापूर्व पाँच सय शताब्दीको अनुमान गरिएका ऐतिहासिक तथा पुरातात्त्विक  कुवा, इनार, चाँदीका पैसा, दरबारका भग्नावशेषलगायतका प्राचीन वस्तु फेला परेका छन्। ऐतिहासिक सम्पदाका विषयमा कलम चलाउने लेखक महेन्द्र थापाका अनुसार सैनामैनामा रहेको पर्रोहा परमेश्वर बोलबम ज्योतिर्लिङ्गको इतिहास खोजीनीति गर्दा बुद्धकालसँग जोडिएको पाइएको छ।

थापाले शाक्यमुनि बुद्धले राजदरबार त्यागी ज्ञानको खोजीमा वानप्रस्थी बन्ने क्रममा राजदरबार क्षेत्रस्थित तौलिहवाको तौलेश्वरनाथ, रूपन्देहीको सैनामैनास्थित पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग र रुपन्देहीकै मर्चवार क्षेत्रस्थित प्रकटेश्वर महादेवको दर्शन गरी दक्षिणतर्फ लागेको विभिन्न अध्ययनले देखाएको र यी शिवालयहरू त्यस बेला पनि महिमाशाली रहेको दाबी गर्नुभयो। यसै गरी कोषको परिषद् बैठकमा पेस भएको कोषको नीति कार्यक्रममा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने उल्लेख छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष सुदन किरातीको अध्यक्षतामा गत सोमबार लुम्बिनीमा बसेको परिषद् बैठकले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गराउनका लागि यसै वर्ष प्रस्ताव दर्ता गरिने निर्णय गरेको थियो। 

नीति कार्यक्रममा नवलपरासी पश्चिमको पण्डितपुर र रुपन्देहीको सैनामैनालाई पनि लुम्बिनी विकास क्षेत्रमा समेट्न प्रस्ताव गरिएको थियो। लुम्बिनी विकास कोष परिषद्को प्रस्ताव नेपाल सरकारले स्वीकृत गरेमा सैनामैना र पण्डितपुर लुम्बिनी विकास कोषभित्र समेटिने छन्।