देवरामप्रसाद यादव
सप्तरी, साउन ७ गते । सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका –१० सखुवास्थित महुली नदीमा पक्की पुल नहुँदा यहाँका स्थानीयहरू डेढ दशकदेखि विकल्पमा चचरीको पुलबाट हिँड्न बाध्य छन् । सखुवा र इनरुवा टोल जोड्ने उक्त महुलीको सानो नदीमा अहिलेसम्म पक्की पुल नबन्दा स्थानीयवासी चचरीबाटै आवतजावत गर्न बाध्य बनेका हुन् ।
महुली नदीको मुहान भएर बगेको उक्त सानो नदीले यहाँका स्थानीय किसानको डेढ दशकदेखि धानबाली नोक्सान पुर्याउँदै आएको छ भने गहुँ खेतीको सिजनमा सिँचाइको अभाव हुने गरेको छ। बर्खायामको बाढीले बाली नोक्सान प्रत्येक वर्षको समस्या भएकोले यहाँको स्थानीय किसान चिन्तित छन् ।
विगत २०३३ सालमा आएको विनाशकारी बाढीले यहाँको खेतीयोग्य जमिनमा नदीको रूपमा परिणत भएको स्थानीय ७५ वर्षीय ज्येष्ठ नागरिक मोलोकमान खाँ बताउनुहुन्छ । उहाँका अनुसार त्यतिबेला नदीको आकार सानै थियो तर अहिले प्रत्येक वर्ष बर्खायाममा कटानले गर्दा नदीको रूपमा विस्तारले गाउँबस्ती नै डुबानमा पर्ने खतरा बढेर गएको हो ।
त्यस्तै, अर्का स्थानीय ७० वर्षीय वृद्घ कैलू यादवका अनुसार बर्खायाममा बाटोघाटो कटान भएपछि स्थानीयवासी गाउँमै थुनीने गरेको बताउँछन् । उहाँले स्थानीयलाई अस्पताल, हाटबजार जान नसक्ने बाध्यता छ भने बालबालिका विद्यालय जान नसक्ने समस्या भएको बताउनुभयो । वृद्घ यादवले नदीमा चचरी भरपर्दो नहुँदा ढुङ्गा प्रयोग गर्नुपर्ने बाध्यता छ।
विगत २०६५ सालमा साबिक इनरुवा गाउँ विकास समितिले पुलेसो निर्माण सुरु गरेको स्थानीय केदार मण्डल बताउँछन् । उहाँका अनुसार साढे सात लाख लागतमा निर्माण पुललाई बाढीले बगाइदिएको छ ।
कोसी तटबन्ध छेउछाउका दर्जनौँ गाउँका किसान बर्खायाममा महुली मुहानको बाढीको चिन्ता डेढ दशकदेखि भोग्दै आएको छन् । सो सम्बन्धमा हनुमाननगर कङ्कालनी नगरपालिका प्रमुख वीरेन्द्र माझीले चचरीबाट ओहोरदोहोर गर्ने बाध्यता आ.व.२०८०/०८१ म अन्त्य हुने बताउनुहुन्छ । उहाँका अनुसार राष्ट्रिय योजना आयोगले चचरीको विस्थापित गरी पक्की पुल निर्माण गर्न सम्भाव्यता अध्ययन (डीपीआर) बनाइसकेकाले राष्ट्रिय योजना आयोगले करिब ९ करोड रुपियाँमा ६० प्रतिशत सङ्घीय सरकार र ४० प्रतिशत नगरपालिकाको लागतमा निर्माण हुनेछ ।
हनुमाननगर-इनरुवा सडकदेखि दक्षिण भारतीय सिमानासम्म खेतीपाती गर्ने यस क्षेत्रका हजारौँ किसान यस नदीको बाढीबाट बर्सेनि प्रभावित भएका छन् । कोशी नदीको पश्चिमी तटबन्धमा सखुवास्थित निकासका लागि सुलिस गेट भएतापनि त्यो अव्यवस्थित रहेको स्थानीयको आरोप छ ।
सुलिस गेटबाट पर्याप्त पानी निकासी नहुँदा बस्ती नै डुबानमा पर्ने गरेको हनुमान नगर कङ्कालनी नगरपालिका–११ निवासी श्यामसुन्दर मुखिया बताउनुहुन्छ । बाढीबाट बर्सेनि जनजीवन कष्टकर हुनुका साथै धानबालीमा नोक्सानी पुर्याउने गरेको उहाँको भनाइ छ ।
करिब दुई सय ५० बिघाभन्दा बढी खेतीयोग्य जग्गा रहेको यस क्षेत्रका किसानको बर्सेनि हुने डुबानको समस्या उस्तै छ । किसानहरू बस्ती र खेतीयोग्य जग्गा जोगाउन स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग हारगुहार गरिरहेका छन् । तर अहिलेसम्म कुनै तहको सरकार गम्भीर हुन सकेको छैन ।
नेकपा (माओवादी केन्द्र) बाट सोही नगरपालिका प्रमुख पदका प्रत्याशी रहेका राहुल मण्डल यहाँका किसानको समस्या कुनै तहको सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गर्नुहुन्छ । तीन तहकै सरकार आपसमा समन्वय गरी यस क्षेत्रका किसानको समस्या समाधान गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
यस्तै, नदी नियन्त्रण गरेर समस्याको समाधान गर्न तीन तहका सरकारले योजना तयार गर्नुपर्ने स्थानीयहरूको माग छ ।