• ८ मंसिर २०८१, शनिबार

ब्रेकिङ न्युज ! (कविता)

blog

असार महिनाभरि कुलोले किसानलाई पख्र्यो

किसान आउँदै आएन

आखिर कुलोले किसानलाई खोज्दै खेततिर आयो

किसान थिएन त्यहाँ, न त खेत नै थियो

‘‘प्रिय किसान तिमी कहाँ छौँ ?

हेर ! म तिमीलाई खोज्दै तिम्रो खेतसम्म आइपुगेँ

जहाँ हामी हरेक असारमा भेटिन्थ्यौँ’’

किसान बोल्दै बोलेन,

कुलो अब त्यो अपरिचित नयाँ बस्तीमा 

घर–घरमा पसेर 

आफ्नो प्यारो परिचित किसानलाई खोज्दै छ

किसान भने– तीन तला माथिको बैठक कोठामा

सोफामा बसेर रङ्गीन टीभीमा हेर्दै छ

सहरभित्र खोलो पसेको ‘ब्रेकिङ न्युज’ !