• ९ जेठ २०८१, बुधबार

महानगरका ८८ प्रतिशत मुद्दा फर्स्यौट

blog

विराटनगर महानगरपालिकाको कार्यालय । तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, साउन ५ गते । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा साँध सिमानासम्बन्धी विवादका उजुरी सबैभन्दा बढी दर्ता भएका छन् । दर्ता भएका मुद्दाको ८८ प्रतिशत फर्स्यौट भएको बताइएको छ ।

महानगरको न्यायिक समितिमा दर्ता भएका मुद्दामध्ये साँध सिमानाको विवादसम्बन्धी ५५ वटा मुद्दा छन् । यो कुल मुद्दाको २३ प्रतिशत हो । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा गएको आर्थिक वर्ष २०७९–८० मा २३७ वटा मुद्दा दर्ता भएका थिए । 

तीमध्ये २०९ वटा मुद्दामा सुनुवाइ गरी फर्स्यौट गरेको न्यायिक समितिका संयोजक उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । दर्ता भएकामध्ये ८८ प्रतिशत मुद्दा फर्स्यौट गरेको उहाँले बताउनुभयो । 

कार्कीका अनुसार सबैभन्दा बढी वडा १२ बाट २१ र १८ नम्बरबाट उजुरी दर्ता भएका थिए । जसमा साँध सिमानासम्बन्धी ५५, महिला तथा घरेलु हिंसासम्बन्धी २९, श्रीमान–श्रीमती विवादसम्बन्धी २९ उजुरी परेको थियो । 

त्यस्तै, खान लगाउन नदिएको, कुटपिट, दाइजो, लेनदेनसम्बन्धी पनि उजुरी पर्नेगरेको कार्कीले बताउनुभयो । गत आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये २८ वटा मात्रै फर्स्यौट हुन बाँकी छ । दर्ता भएकामध्ये समितिले ३९ वटा जिल्ला अदालत मोरङमा पठाएको छ । 

त्यस्तै ४४ वटा मिलापत्र भएको छ । ‘६ वर्षयताकै सबैभन्दा धेरै उजुरीको निर्णय हामीले गरेका छौं’ उपमेयर कार्कीले भन्नुभयो, ‘मिलेसम्म मिलापत्र गराउँछौं, धेरै प्रयास गर्दा पनि नमिले अदालत पठाउँछौं ।’ अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा २१० वटा उजुरी दर्ता भएकोमा १७५ वटा उजुरीको निर्णय भएको उपमेयर कार्कीले बताउनुभयो ।