• ९ जेठ २०८१, बुधबार

पर्यटकका लागि सूचना केन्द्र र ट्याक्सी पार्क

blog

पशुपतिनगरमा पर्यटन सूचना केन्द्र र ट्याक्सी पार्क उद्घाटन गरिँदै । तस्विर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, साउन ५ गते । पर्यटकहरुलाई सुविधा दिने उद्देश्यले इलामको सीमावर्ती बजार पशुपतिनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । सूचना केन्द्रसँगै ट्याक्सी पार्कसमेत निर्माण गरिएको छ । 

सूचना केन्द्र र ट्याक्सी पार्कको आज एक कार्यक्रमबीच सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले उद्घाटन गर्नुभयो । नगरप्रमुख राईले पशुपतिनगर पुगेका पर्यटकलाई नेपालका पर्यटकीय, धार्मिक, सांस्कृतिक क्षेत्रलगायतबारे सूचना दिन केन्द्र स्थापना गरिएको बताउनुभयो । 

सूचना केन्द्रसँगै निर्माण गरिएको ट्याक्सी पार्कले पशुपतिनगर आउने पर्यटकलाई सुरक्षित ढङ्गले सवारी साधन पार्किङ गर्न सहज हुने राईले बताउनुभयो । १६ लाख १८ हजार रुपियाँँमा सूचना केन्द्र र १० लाख २२ हजार रुपियाँको लागतमा ट्याक्सी पार्क निर्माण गरिएको नगरपालिकाका इन्जिनियर सृजन गदालले जानकारी दिनुभयो । 

तीन रोपनी आठ आनामा फैलिएको पार्कमा ८० ट्याक्सी तथा जिप अटाउने क्षमता छ । यहाँ शौचालयसमेत निर्माण गरिएको छ । नेपाल–भारत सीमामा पर्ने पशुपतिनगर नाका भएर भारतका दार्जिलिङ, मिरिक, सिक्किमल, सिलिगुडीलगायत स्थानबाट पशुपतिनगर बजार आउनेगरेका छन् । विशेष गरी भारतको दार्जिलिङ घुमेर फर्कने  बङ्गाली पर्यटकहरु पशुपतिनगर बजार आउनेगरेको स्थानीयको बुझाइ छ ।