• १४ पुस २०८१, आइतबार

दक्खिनका गावैँगाउँ

blog

         “हस्” मात्र भनिरहेँ मैले ।

“आज ३१ किलोमिटर गुडिन्छ दाजु ।”

“दक्षिणका गाउँ धेरै नाघिन्छ ।”

“जङ्गल मासिएर अनेक बजार निकै भेटिन्छन् दाजु ।”

खैखबरी गर्ने कान्छो र सही थाप्ने साइँलो । मन उज्यालिएथ्यो । सन्चो भएको छातीले “हस्” भन्दा हाँसेथे आँखा पनि ।

पाडाजुँगीबाट भटभटेले सिधा बाटो समात्यो । पुरानो मान्छेलाई अहिले राखिएको कमल नाउँ जिब्रोमा बलियोसँग झुन्डिसकेको लागेन । मुखैमा कमल पूmलको सिमेन्टे मूर्ति गाडिएका पनि मनमा के कत्तिको अडिलो भएको छ, सोध्ने मन आलै छ ।

दाहिनेतिर रतुवा खोलाको धिमा लहर छँदैछ । लमतन्ने बगर र कतै–कतै खोलाले धार बदलेको ठाउँमा धानको लहलह थियो बेपत्तै । रतुवापारि दमकको चमकगमक छ बेस्सरी ।

“दाजु, झापा जिल्लाको यो भेग धानका लागि नामी छ नि ।”

धनकुटे कान्छाका बोली सुन्दैछु ।

“है !”

टाउको हल्लाएँ मैले ।

बाटाभरि ढाकी, डोका, भार लिएर गाउँलेहरू बजार गइरहेका देखिन्थे । बाटाका किनारैभरि तरकारी, माछा भरिएका सिलाबरे आरी र कुखुरा थुनिएका खुँगी पनि थिए ।

मङ्गलबारे बजार बाटैमा रैछ । बजारुहरू गइरहेथे बजारतिर । बाटोमा निकै भेटियो हुल ।

बिहानै सुनेथेँ– आज खग्रास ग्रहण लाग्दै छ साँझ ५ बजे ।

“खान, हिँडडुल गर्न रोक्छन् । बजार जान चैैँ छेकिएन छ त ?” मैले बजार पसिरहेको हुल देखेर भनेँ ।

“ग्रहणले नखा पो भन्छ, नबेच–नकिन कसरी भन्छ त !”

कान्छा भाइ बोलेको सुनेँ । बजार गएका ताजपुरिया आइमाईका हुल थिए ।

तिनले लगाइएका लुगा गहना आफ्नै पाराका थिए ।

“भाइ गफ गरूँ न यीसँग ।”

मैले भनेँ ।

अगनसरि ताजपुरियाले गहनाको नाम चिनाइन्–

“मट्ठा, सिप्टीतार, चुरी, टाकाहार, गोट, हँसली, खरुवा हाम्रा गहना हुन् ।”

ती सबैजसो चाँदीका थिए । ७–८ किलो चाँदीका यी गहना बजार जाँदा, बिहे, पूजाआजा र चाडपर्वमा लाउने गर्दा रहेछन् उनीहरूले ।

हाम्रो गति तुफानी छैन । चारैतिर आँखा लगाइरहेको छु । दाहिने–देब्रे परेलीसँग मनले हतारिएर पढ्न भ्याउँछन् ।

पहेँलपुर धानबारी छ । आँखाले नभ्याउने गरा–गरामा धानको उज्यालोले अकास र धर्तीको किनारसम्मै लिपेको लाग्छ ।

गलैँचा छ पहेँलै । मनले सोहोरेर त्यो पहेँलपुरलाई बाल्टीका बाल्टी पहेँलो रङ खन्याएको खुसी हृदयभरि खितखित गर्छ । ठाउँ ठाउँमा हरिया धानका गाँजले बुट्टा भरेको लाग्छ । पहेँलोमा हरियो–  औधी मिलेको ।

“गेउरिया यो !”

झुरुप्प गाउँ पुग्दा कान्छा बोले ।

उही धानबारीको रूप र रङ । उही चकमन्न र घमाइलो दिनको चमक । उही बाँसघारी र आँपका बोटको उज्यालो खुसी ।

दक्खिनतिर वेग हानिरहेका छौँ हामी । कालो बादलसँगै ओर्लिएको शितलु र छायाले छातीमा सन्चो सजाउँछ । म अकास हेरेर रमाइरहेको छु– “बादल र धान लुकामारी जत्ति गरे नि हुन्छ, हाम्लाई भरे लोथ पारेर नचुटून् ।”

कुरा फुस्केछ रुद्र घण्टीबाट मास्तिरै । भाइ हाँसे कानको जर्नी तन्किने गरी ।

०००

फुसका घर टुप्लुकिन्छन् । छाप्रा छन् र झिक्राझिक्रीले बेरबारिएका । पानीका स–साना दह र खोल्सातिर जाल हानिरहेका केटाकेटी र आइमाईहरू देखिन्छन् ।

“गनगाई, धिमाल, सन्थाल, राजवंशीका गाउँ जाँदै छौँ है दाजु हामी ।”

कान्छा भाइको कुरा सुनिन्छ ।

पूर्वी तराईको यी बस्तीमा रहने यिनीहरू पुराना जाति हुन् । वास्तवमा खास धर्तीपुत्र यिनै हुन् नि । जसले यहाँको जङ्गली रोग, औलो, देसान, सिकारी रोग खपेर आपूmलाई यो भूमिमा बचाए । जङ्गलका अनेकौँ बाघ, भालु, हात्ती, अरिङ्गाल, सर्प, गोहीका डसाइसँगै आपूmलाई लड्दैपड्दै हिँडाए ।

“भाइ सन्थाल, गनगाई, माझी, ताजपुरिया, राजवंशीका आँगन टेकाउनुस् है ।”

“हुन्छ नि दाजु !”

कान्छा भाइले भरोसा दिए ।

बाटाका देब्रे–दाहिने सुरिला–सुरिला नरिवलका रुख ठडिएका छन् । सुपाडीका झुप्पा–झुप्पा झुन्डिएका टङरङे रुख टुप्लुकिन्छन् । आँप, अम्बा, लिची र किम्बुका बोट भेटिएर मनभरि हरियाली छरिन्छ ।

“ओहो, आँखै पो पोल्यो त !”

भटभटे रोकियो ।

अलिक अघि मेरा आँखामा त्यस्तै हैरानी भएथ्यो । पतेरो किरा धानबारीबाट उडेर हामीलाई सताउन झम्टेको रहेछ । हामी दुवै आँखा पुछ्दै हुइँकियौँ सुस्तरी ।

कात्तिकको पहिलो हप्ता । उज्यालो र मनतातो दिन ।

“८ गते हुनुपर्छ आज ।”

मैले भनेँ ।

“२०७९ सालको लामो डुलाइ यै पो हो कि दाजु मेरो त ?”

कुरा सुन्छु कान्छा भाइको ।

पिरो आँखाले धानबारीको लहलह हेर्दाहेर्दै भेटेको पत्तो पाएको छैन मैले । बाटो छेवैका भौडीमा तन्नाका दुई छेउ समातेर भुराभुरी पानी हुत्याएर सुकाइरहेथे दह । अब हिलोमा तिनले माछा मार्ने होलान् ।

एक छिन भटभटे रोके भाइले ।

“के पाइन्छ र ?”

“हिले, अन्धा बाम यता पाउँछ ।”

पानी हुत्याउन छोडेर केटाकेटी बोले ।

“यी राजवंशी हुन् ।”

कान्छा भाइले केटाकेटी चिनाए मलाई ।

हामी अलिक अघि बढ्यौँ ।

चैतुचोक नाघेर डिपुचोक पुगेपछि मैले भनेँ– “आज बिहान भक्का खाएर बाटो लाग्नुपथ्र्यो– भाम गल्ती भयो ।” 

“रैलैरेलामा यता लागियो– भोकैले त नमरिएला दाजु ।”

कान्छाले भने ।

मधेश चिनाउने यो परिकार खान छुटेकोमा छातीको एक कुनामा उराँठ उभियो ।

बाटो एकोहोरो दक्खिनतिर कुदेको छ । त्यसमै हामी पनि हुइँकिँदै, थाकिँदै, रोकिँदै, वेगिँदै छौँ ।

“पान खाऊँ र तराई चिनौँ ।” 

डिल्ली फुयलको टिनको छाप्रोमा लगेर भाइले भने– “गुवा पान र मसले पान बनाउनुस् ।” 

“कति वटा ?” 

“४–५ वटा, ४–५ वटा बनाउनु न ।”

लौ एक झोला पान, सुपाडी हात परे । मैले एक सय सत्तरी खनखनी गनेँ ।

माटोमा गाडिएको सुपाडी र हरिया पानमा दलेको चुनाको स्वादसँगै बाटो लाग्यौँ हामी । घाम निकै चर्किएको छ । बाटोको देब्रे–दाहिने धानबारीको लहलहमा टाँसिएर राप फर्किन्छ हाम्रै आँखामा ।

धोबिनिया चोक नाघ्दा बाटाका किनारमा पाटाका लट्ठा र सन्ठी सुकाएको देखियो । कुनै बेला यता खुबै उमारिन्थ्यो पाटा । अचेल निकै कम उब्जनी हुँदो रै’छ यो नगदे बाली ।

घरका भित्ताभरि गुइँठा टाँसिएका देखिन्थे । फाग्नी माझी थिइन् उनी । हातको गोबरले सन्ठीमा बेर्दै ठड्याएर सुकाउँदै थिइन् ।

“यै त हो हाम्रो दाउरा ।”

उनले हामीसँग बोल्दा २–३ पटक घुम्टो तल सारिरहिन् ।

०००

जति–जति दक्षिण गयो ताजपुरिया, गनगाई, राजवंशी, सन्थाल, माझी, मेचे, धिमाल, किसान, झाँगडका बस्ती छन् भन्ने सुनेथेँ । तिनका आँगन, बारी, पिँढी र हेर्दै जाने मन छ मेरो ।

“हेरौँ, भेटेसम्म बोल्दै पनि जाने हो ।”

“पाएसम्म तिनका भान्सा पनि चाख्दै जाने हो ।”

कान्छा र मेरा कुराकानी भए । अनि हामी हाँस्यौँ । म एक पाइला तर एक माइल हाँसिसक्छन् भाइ ।

गौरादह अघि पूर्वतिरै छुटेको छ । धानबारीका माझमा एउटा ठुलो सहरै बनेछ– आलिशान महल र रङ्गीबिरङ्गी झिल्के घरको अग्लाइले वरिपरिका रुखपात पुड्किएछन् पूरै ।

अचम्मै मान्दै छु म– अग्ला न अग्ला महल देखेर ।

कुनै उद्योगधन्दा, कुनै कलकारखाना वा कुनै उद्यमको एक झुल्को छैन । व्यापार, वाणिज्यको कुनै ठुलो खेलो गर्ने ठाउँ हो जस्तो लाग्दैन । ठुला ठुला विकासका निर्माणले रुपियाँ छनछनी खेल्ने यो थलो हो, जस्तो लागेको पनि छैन । तैपनि गौरादहका धानबारीमा टङ्रङ्ङ उभिएकाउभिएकै छन् अकासिँदा घरहरू ।

०००

जुरोपानी नाघ्दासम्म पानको बुजोले गाला खुइल्याइसकेछ । दर्फ¥याएको गालालाई जिब्रोले मल्हमपट्टी गर्दैछु ।

माझी गाउँ पुगिएछ ।

२० घर झुप्रैझुप्रा थिए । घुच्ची माझीका आँगनमा ४–५ जना माछा केलाइरहेथे । अर्को कुनामा घुँगी छानिरहेका ३–४ तन्नेरीहरू थिए । 

“यो खानुस् गठिया जान्छ ।”

छातीभरि सेतै भुत्ला भएका अधबैँसेले भने । 

“यो गन्जुरले सात रोग कन्ट्रोल हुन्छ ।” उनले थपे । 

त्यतिखेर उनले ठुलो घुँगी देखाएका थिए ।

“सित्तल बनाउने तरिका देखाइदेऊ ।”

हल्टाङ माझीले आफ्नी बुहारीलाई भने । म घर छेउको पानीको कलनिर गएँ । 

बुहारीले केलाएका मसिना भुरा माछा धुँदै बयान गरिन्–

“यी सिद्रा सुकाइन्छ । अनि मानोका डाँठमा मिसाएर कुटिन्छ । पछि त्यो भुटेर र अचार बनाएर खाइन्छ ।”

सानो बिरुवा नजिकै थियो– कर्कलोजस्तो ठुलो पात र डाँठ भएको ।

हामी कुनै नेता वा दलका लाउके भन्ठानेछन् पनिलालले । भने पनि– “लौ न हामी तीन पुस्तादेखि यो ऐलानी माटोमा छौँ । लालपुर्जा दिलाइदिनु प¥यो । सबै दललाई त भोट हालिरहेका छौँ ।”

छाती चसक्क छोयो– यी आदिवासीका कुराले । तिनका आँगनमा जाल, ढोक्सा, मधानी असरल्लै थिए । 

त्यसपछि हामी बाटो लाग्यौँ । ग्वालडुवा पुग्दा घाम अझै चर्कियो । धान काट्ने आइमाईहरू हँसिया र डोरी लिएर खेतका आलीतिर गएका देखिन्थे ।

कतिले भरे धानको नल लैजान भारी कस्ने डोरी बोकेका रे ।

पहिला–पहिला यो घना जङ्गली क्षेत्र थियो । बस्ती निकै पातला । पारिबाट डाका आउने र लुटपाट मच्चाउने घटना महिनैपिच्छे हुन्थे ।

दक्खिनका यी गाउँ डाँकाले लुटेका, हात्तीले तहसनहस पारेका कुरा हरेक ठाउँ ठाउँमा सुनिन्थ्यो ।

“ए भाइ, झल्ला हेर्न नपाइने ?”

मैले अल्ताबारी पुग्न लाग्दा भनेँ ।

भाइले भटभटेको बाटो बदल्न मोडे ।

एउटी बुढी माथिबाट तल झरिन् । आँगन बढारिरहेकी बुहारीले सासूलाई डाकिन् । हाकिमवती राजवंशीको आँगनमा हामी पुगेका रहेछौँ ।

उनीसँग धेरै कुरा भए ।

गनगाई, राजवंशी, ताजपुरियाका धेरै कुरा मिल्दा भेटेँ । खानपान, बसाउठी, मरुमराउ र बिहेबारीमा निकै नजिकको नाता रहेको लाग्यो मलाई ।

हाकिमवतीले हातभरिका ‘जगानी’ देखाउँदै भनिन्– “सोर्ग लाने यत्ति हो यहाँबाट ।” 

उनका पाखुराभरि नीला टाटु अब त खुम्चेका देखिन्थे । तिनको रूप खस्केको देखिन्थे– मुजा परेका नाडी, पाखुरीहरूमा ।

उनले झल्ला बुन्ने तान, लट्ठी, डोरी सबै देखाइन् । कुनै बेला धेरै पाटा छरिने हुनाले राजवंशीहरूले यसैको दरी, तन्ना बुन्थे । अहिले सबै कुरामा कमी भयो ।

“म त पाल्कीमा भित्रिएकी यो घरमा । ४–५ वटा गोरुगाडा, एउटा हात्ती र ४–५ पाल्की थिए ।”

७२ वर्षकी हाकिमवतीले पुरानो कुरा सम्झिन् ।

उसिनेको धान, मुरै, झल्ला, दाउरामै जीवन बितेको कुरा उनका अनुहारले बताइरहेथे ।

“बाफ रे, कति दुःख त्यो बेला । अहिले त सहनै नसक्ने सुख छ ।”

हाकिमवतीका कुराले सबै हाँसे पनि उनी भित्रभित्रै चोइटिएकी थिइन् ।

दामाबारी पुग्यौँ हामी । मिठा पान भाइलाई र गुवा पान मैले खाएँ । मुखमा नयाँ स्वाद भित्रियो । भाइले भने– “यसमा कत्था दल्न पाएको भए झिल्का हुन्थ्यो नि दाजु ।”

अहिले नै ‘झिल्का’ छुटेकाले फिस्स हाँसेँ म ।

गौरीगञ्ज पुग्दा घडी हेरेँ– घर छोडेको तीन घण्टा बितिसकेछ । भुँडीले त्यो समय केलाउन लगाएथ्यो खासमा चैँ ।

“हऊ कान्छा भाइ, क्यै खानु पर्ला ।”

मैले भनेपछि उनी यताउता कुदे ।

“हेर्नुस् दाजु, ताजपुरियाको पसल पाए– पकौडा, मुरी पाइएला । मिठा पनि भेटिएला । नभए खाएको सम्झनुस्, जानुस् ।”

उनी मस्तले हाँसे ।

मलाई मुरी र पकौडा मस्तले खान मन थियो । पन्ता भात र साना खान मन थियो । आँखा यताउता चनाखा पार्न छोडेनन् भाइले ।

०००

गौरीगञ्जबाट बाटो पश्चिमतिर लाग्यो । 

यहाँबाट अल्ताबारी जाने बाटो छोडेर खजुरगाछी पुग्यौँ हामी । निकै अग्ला टाँडे घरहरू भएको यो बजार अहिले चकमन्न थियो । कुनै समयको निकै नामी धान मिल भएको ठाउँ यो दक्षिणी झापाको विशेष व्यापारिक केन्द्र पनि रहेछ । 

गेउरिया खोला तरेर हामी दक्षिणतिर लाग्यौँ ।

झोकाइ यादवसँग बाटो छेवैमा भेट भो– “मैले सबै सम्पत्ति सालाहरूलाई दिएँ । अहिले २० वर्षदेखि यी खाली खुट्टा हिँडेर ईश्वरको भजनमा डुबेको छु ।”

मैले उनका ३–४ वटा पराले झुप्रा हेरेँ । घर छेउका बाँसे घोचामा पाटा सुकाइएको थियो ।

मैले त्यतिन्जेलमा उनको मुखबाट ‘ईश्वर महिमा’ सुनिसकेको थिएँ ।

यादवले छुट्टिने बेलामा भनेका थिए– “झारखण्डबाट रित्तो आएथेँ म । ससुरालीले सबै दिएका थिए ।”

मैले वर्णन गरेँ कान्छालाई, झोकाइ कथा ।

भाइ मर्ने गर्ने गरी हाँस्दै बोले– “अर्काको लिएर भरपुर प्रयोगपछि सबै दिएँ रे !”

“नेपाली ठगिने क्रम  धर्म, कर्म सबै ठाउँमा छ भाइ ।”

मेरो भनाइले उनलाई छोएछ ।

अनि धानबारी र पातला घर नाघ्दै बाटो नाघिरह्यौँ । बाटोका दायाँ–बायाँ भौडी र पैनीमा टकरकेका जोडी निकै देखिए ।

“गरुड–गरुड !”

कराएँ म ।

एक जोडी टकरके उडेर गए ।

अरू धेरै खालका चरा पनि मेटेकाले भरिएका भौडीबाट अत्तालिएर उडे । चराहरूको कल्याङमल्याङले एकछिन धानबारीमा सङ्गीत सुनियो ।

बाटोमा झ्याम्म रुखहरू थिए । धानबारीका बिच–बिचमा साइकलका ताँती थिए । भन्सार छलेर ल्याएका सरसामान लैजान ती साइकल राखिएका रे । सरकार छलेर जनता धनी हुने मेलो हुने कहिलेसम्म ? 

रुखमुनि बसेका फागुलाल राजवंशीसँग भेट भयो । उनले भने– “यता डाँका कम भो अहिले । पहिला पहिला खुब लाग्थ्यो । भारमा चाँदीका गहना र पैसा बोकेर लैजान्थे लुटेर ।”

उनका साथी माघु किसानले भने– “ओहो, डाँको परेलकी ।”

डाँका लागिहाले धनुकाँड चलाउने र कुकुर छोड्ने पुरानो चलन रहेछ । त्यसपछि पनि उनका घरभित्रै आए एकोहोरो तीर हान्ने र ढोकाबाट भित्र पस्न नसकून् भनेर खुर्सानीको धुलोले छर्किने प्रतिरोधी कला रहेछ । 

हृदयमा अनौठा अनौठा तरङ्ग छुट्दाछुट्दै हामी चियाबारी पुग्यौँ । आठमौजा भन्दा रहेछन् यो चियाबारीलाई यताकाले । चियाको तलतल निकै थियो– हरिया चियापत्ती चुँडेर धित मारेँ मैले ।

बाटो पश्चिम थियो– श्री श्री १०८ लक्ष्मी सरस्वती माता मन्दिर । 

मन्दिरबाट दक्षिण हुत्तिएको बाटो गएर नेपाल–भारत सीमामा रोकियो । आँपको रुखमुनि एउटा टिने छाप्रो भेटियो । बारबेर र छानो पनि खिया लागेका टिनैटिनले भरिएथे । हाई काढ्दै थिए ३–४ सशस्त्र प्रहरीहरू टहरोमा ।

बिचमा नीला पूmल फुलिरहेका मेटेकाको एउटा आपट्टे घारी थियो । जनता चोकको त्यो चौकी नै दसगजाको वारि सीमा रहेछ ।

पारिपट्टि भारतको फत्तेहपुर थियो । त्यहाँ भव्य भारतीय झन्डा फर्पmराएर आधुनिक हतियारसहितको बिएसएफको ठुलै फौज ‘बोर्डर सेक्युरिटी फोर्स’ थियो । नेपालपट्टि सानै हुरी आउँदा नि उड्ने कुचुक्क परेको टिने छाप्रो थियो– सुरक्षाकर्मीको ।

फत्तेहपुरभन्दा अलिक पर बजार रैछ फुलबडिया । त्यहाँका सरसामान किन्ने नेपाली निकै माथि दमक, गौरादह, गौरीगञ्जसम्मैका हुन्छन् भने– बैकन गनगाइले । उनी चिया सुक्र्याइरहेथे– सीमा छेउको छाप्रोमा ।

०००

“भाइ, यो गाउँ त घुमौँ न ।”

मैले भनेपछि हामी नेपालतिरको छाप्रे गाउँतिर पस्यौँ ।

बाटैमा केमलाल सिंह गनगाई भेट भए । उनी साइकल डो¥याएर फुलबडिया जाँदै रहेछन् । उनैले तीन घर राजवंशीका, चार घर ताजपुरियाका, दुई घर ऋषिदेवका छन् भने नेपालतिरको यो झुरुप्प बस्तीमा ।

मोहिनीदेवी र कलकत्तिया सिंहसँग पनि मैले सोधेँ । उनीहरू ठुल्ठुला धोव्रmा लिएर पारि जाने हतारोमा थिए ।

“के लिन ?”

“चिनी ।”

पारि ६२ रुपियाँ चिनीको मोल छ– वारि ९५ रुपियाँ पथ्र्यो त्यसैको । त्यही यता र उता, उता र यताको संसारमा यो गाउँ बाँचिरहेको देखिन्थ्यो ।

कुनै समय झापा, गौरीगञ्ज, रङ्गेली मात्र थिए– यहाँका बलिया आर्थिक केन्द्र । अहिले ती अनेक कारणले सुक्दै गए । 

त्यसकै एउटा अनुहार र चरित्र भेटिन्थ्यो– यो जनता चोकको आँगनीमा ।

ग्रहण लागिरहेथ्यो सूर्यमा । तर मेरो मनको सूर्य भर्भराउँदो थियो, झर्झराउँदो थियो । किनभने दक्षिणी सीमा छेउका गाउँमा पाइला हाल्न पाएथेँ मैले । 

Author

युवराज नयाँघरे