• ८ जेठ २०८१, मङ्गलबार

उन्नाइस प्रतिशत बालबालिकामा कुपोषण

blog

राममणि दाहाल

हेटौँडा, साउन ४ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाका बालबालिकामा कुपोषणको समस्या देखिएको छ। सो गाउँपालिकाको स्वास्थ्य शाखाले पहिलो पटक गरेको बालबालिकाको पोषण अवस्था लेखाजोखा अध्ययनबाट १९ प्रतिशत बालबालिकामा कुपोषण रहेको पाइएको हो।

गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक विजयकुमार कापरीले स्वास्थ्यकर्मीसहितको टोलीले नौ वटै वडाका टोल र बस्तीमा पुगेर एक हजार ६०४ जना बालबालिकाको पोषण अवस्था जाँच गर्दा तीन सय जना अर्थात् करिब १९ प्रतिशत बालबालिकामा कुपोषणको जटिल समस्या रहेको पाइएको जानकारी दिनुभयो। 

चेपाङ र तामाङ बाहुल्य सो गाउँपालिकामा छ महिनादेखि ५९ महिनामुनिका बालबालिकामध्ये ९९ जना अर्थात् करिब छ प्रतिशतमा कडा शीघ्र कुपोषण र २०९ जना अर्थात् १३ प्रतिशतभन्दा बढीमा मध्यम कडा शीघ्र कुपोषण रहेको पाइएको छ। 

स्वास्थ्य शाखाका अनुसार बालबालिकाको पोषण अवस्था सर्वेक्षणका क्रममा छ महिनादेखि २३ महिनामुनिका ६१९ जना बालबालिकाको लेखाजोखा गरिएकामा कडा शीघ्र कुपोषण भएका ५७ जना र मध्यम कडा शीघ्र कुपोषण भएका ९१ जना बालबालिका भेटिएका थिए। यस्तै २४ महिनादेखि ५९ महिनामुनिका ९८५ जनामध्ये कडा शीघ्र कुपोषण ३४ जनामा र मध्यम कडा शीघ्र कुपोषण ११९ जनामा भएको पाइएको छ।

गरिबी र खाद्यान्न अभाव रहेको राक्सिराङ गाउँपालिकामा सङ्घीय सरकारको सहयोगमा चेपाङ समुदायका बालबालिकालाई लक्ष्य गरी कुपोषण न्यूनीकरणका लागि बालबालिकाको पोषण अवस्था लेखाजोखा तथा सुधार कार्यक्रम सञ्चालन हुँदै आए पनि चेपाङ समुदायका बालबालिकाको पोषणको अवस्थामा सुधार आउन सकेको छैन। 

स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक कापरीले गरिबी र खाद्यान्न अभावका कारण बालबालिकामा कुपोषणको समस्या देखिएको बताउनुभयो। “स्थानीयसँग रोजगारी छैन, खाद्यान्न उत्पादन हुने खेतीबारी छैन, तीन महिनादेखि पाँच महिनालाई पुग्ने खाद्यान्न उत्पादन हुन्छ र कन्दमूलमा भर पर्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो। राहत नबाँड्ने हो भने बालबालिका मात्र होइन, वयस्क र ज्येष्ठ नागरिकमा पनि यो समस्या आउनेमा उहाँले सचेत गराउनुभयो। 

कुपोषणको समस्या समाधान गर्न चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले सम्बोधन गर्ने गाउँपालिकाले जनाएको छ। बालबालिकाको तौल, उचाइ र पाखुराको नाप लिएर बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन गत असारमा गाउँपालिकाभित्र रहेका ७१ वटा टोलमा स्वास्थ्यकर्मी पुगेका थिए।

पोषणको अवस्था सुधार गर्न बालबालिकाबिच स्वास्थ्य प्रतियोगिता, सरसफाइ, मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरण कार्यक्रम, चेपाङ आमाहरूलाई पोषणसम्बन्धी तालिम प्रदानसँगै कुपोषण भएका बालबालिकालाई उपचारात्मक खाना प्रदान गरिँदै आएको छ। उपचारात्मक खानाको प्रयोग गरिएको ४२ दिनसम्ममा पनि कुपोषण भएका बालबालिकाको अवस्थामा सुधार नआए सदरमुकाम हेटौँडामा रहेको पोषण पुनस्र्थापना केन्द्रमा पठाइने गरिएको छ। 

छ महिनादेखि ५९ महिनामुनिका चेपाङ बालबालिकाको पोषण अवस्था लेखाजोखाका क्रममा वडा नं. ७ मा ३१९ जनाको जाँच गर्दा ३६ जनामा कडा कुपोषण र ६० जनामा मध्यम कुपोषण रहेको पाइएको थियो। यस्तै वडा नं. ८ मा १२१ जना चेपाङ बालबालिकाको पोषण अवस्था लेखाजोखा गर्दा पाँच जनामा कडा कुपोषण र २७ बालबालिकामा मध्यम कुपोषण भेटिएको छ। गाउँमा खाद्यान्न अभावकै कारण केही रोजगारीका लागि गाउँबाहिर जाने र कतिपय दैनिक गुजारा चलाउन गाँजा भरिया बन्दा पक्राउ पर्ने गरेका छन्।