• ८ मंसिर २०८१, शनिबार

पुरानै ढर्राको कथा ‘बगान’

blog

काठमाडौँ, साउन ४ गते । चलचित्र ‘बगान’ एकल महिलालाई परिवार र समाजले हेर्ने दृष्टिकोण, आमाका रूपमा उनले गर्ने सङ्घर्ष र पूरा गर्ने दायित्वको कथा हो। निर्देशक सरोज खनालले एकल आमाको सङ्घर्ष, परिवार र समाजको सङ्कुचित भावना, समाज परिवर्तनमा नयाँ पुस्ताको भूमिकालाई देखाउने प्रयास गर्नुभएको छ। एउटी सङ्घर्षशील महिलाको अस्तित्वलाई समाजका विभिन्न तत्वले कसरी  निमोठ्ने प्रयास गरिरहेको हुन्छ र त्यस्तो प्रवृत्तिसँग जुधेर कसरी महिला अगाडि बढ्न सक्छिन् भन्ने कथा चलचित्रमा देखाइएको छ। त्यस्तै परम्परागत र रूढिग्रस्त समाज परिवर्तनमा नयाँ पुस्ताको भूमिकालाई पनि चलचित्रमार्फत देखाएर प्रेरित गरेको छ।

श्रीमान्ले आत्महत्या गरेपछि एकल भएकी आकाङ्क्षा (करिश्मा मान्नधर) ले आफ्नो जीवन सहज रूपमा अगाडि बढाउन र छोरी  प्राप्ति (प्रमिला कार्की) प्रतिको जिम्मेवारी पूरा गर्न समाजसँग सङ्घर्ष गर्छिन्। शिक्षाबिना केही हुँदैन भन्ने बुझेकी उनले उमेर ढल्किसकेपछि पनि शिक्षालाई निरन्तरता दिँदै आफ्नो लक्ष्य भेट्नतर्फ लाग्छिन्। पढाइ सकेपछि जागिरको क्रममा उनको भेट सरोज खनाल (विजय) सँग हुन्छ। एउटै क्षेत्रका काम गर्दै अगाडि बढ्दा उनीहरूले एकअर्कालाई राम्ररी बुझ्न थाल्छन्। चलचित्र यिनै तीन पात्रमा केन्द्रित छ। 


सानै उमेरमा इच्छाविपरीत विवाह बन्धनमा बाँधिएकी आकाङ्क्षाले पति वियोगपछि भोग्नु परेको पीडाले धेरै दर्शकलाई संवेदनशील बनाउँछ। त्योभन्दा बढी संवेदनशील दुधे बालिकालाई छिमेकीको भरमा छोडेर पढ्न हिँडेकी आकाङ्क्षाको अवस्थाले देखाउँछ।  उनको अथक मेहनतले पढाइमा सफलता पाएपछि उनी गैरसरकारी संस्थामा काम गर्न थाल्छिन्। उनको व्यक्तित्वमा आएको निखार, निडर स्वभाव विकास भएको देखिन्छ तर उनका नजिकका आफन्त र समाजले त्यसलाई सहज रूपमा लिँदैनन् र चरित्रमाथि औँला ठड्याउन थाल्छ। सानै उमेरदेखि आमाका सङ्घर्षलाई नजिकबाट अनुभूति गरेकी छोरी प्राप्तिले ती सबै कुरा बुझिरहेकी हुन्छिन्। अन्यायमा परेकी आमालाई न्याय दिलाएर उनी प्रयास गरिरहन्छिन्। उनले आमालाई साथ दिने विजयी नै उपयुक्त पात्र भेट्छिन्। ती दुईलाई नजिक्याउन अनेक प्रयास गर्छिन्। सफल पनि हुन्छिन्।  अविवाहित विजय र उनकी आमा ( वसुन्धारा) ले सहजै आकाङ्क्षालाई सहजै स्वीकार्छन्। आमाको विवाहपछि छोरी प्राप्ति निकै सन्तोष मानेर आफ्नो जीवनलाई नयाँ गन्तव्यतर्फ डो-याउँछिन्। चलचित्रको सुखद अन्त्यले समाजलाई नयाँ सोचमा पु-याउँछ।  मध्यान्तरअघिसम्म चलचित्रले खासै लय समात्दैन दर्शकलाई लघु चलचित्र हेरिरहेको आभास हुन्छ। नवनायिका प्रमिलाले आफ्नो आमाको दुःख वेदनाबारे बोल्ने संवादलाई निकै आदर्शपूर्ण तरिकाले प्रस्तुत गरिएको छ तर अभिनेतृ वसुन्धरा भुसालको संवाद भने जीवन्त देखिन्छ। मध्यान्तरपछि भने चलचित्रले लय लिएको भान हुन्छ। दर्शकमा उत्सुकता जगाउँछ सफल देखिन्छ। 

चलचित्रमा धेरै कुरा अनावश्यक तवरले देखाइएको छ। निर्देशक डेब्यु गरेका खनालले गीतसङ्गीत पक्ष, पात्रहरूको संवादको पक्ष, कलाकारको उमेर अनुसारको अभिनयमा भने विशेष ध्यान दिनुपर्ने देखिन्छ। अभिनतृ करिश्मा मानन्धर र सरोज खनालको अभिनय मध्यम छ। नवनायिका प्रमिला कार्कीको अभिनयमा परिपक्वपन छ। अन्य कलाकार नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मा जस्ता पुराना कलाकारको अभिनय शैलीमा कुनै नयाँ कुरा छैन।