• ४ जेठ २०८१, शुक्रबार

कोशी प्रदेशमा सबैभन्दा बढी

दुई हजार नौ सयभन्दा बढीमा डेङ्गु : सुरक्षाका उपाय अप्नाउन सुझाव

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ३ गते । पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । 

 स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार ६८ जिल्लाबाट दुई हजार ९३० जनामा डेङ्गु पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ । सङ्क्रमण बढेसँग सुरक्षाका उपाय अप्नाउन सुझाव दिइएको छ । 

 डेङ्गु पुष्टि कोशी प्रदेशमा सबैभन्दा बढी छ । सोही प्रदेशमा एक हजार ७४६ जनामा डेङ्गु पुष्टि भएको छ । 

त्यसैगरी, बाग्मती प्रदेशमा ४६८ जना, सुदूरपश्चिम प्रदेशमा २७९, गण्डकी प्रदेशमा २६९, लुम्बिनी प्रदेशमा १३४, कर्णाली प्रदेशमा १८ र मधेष प्रदेशमा १६ जनामा डेङ्गु पुष्टि भएको छ । 

सङ्क्रमितमध्ये ८२ प्रतिशत डेङ्गु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लाबाट  दुई हजार ४११ जनामा डेङ्गु पुष्टि भएको छ । 

 जिल्लाअनुसार सुनसरी एक हजार ५७१, धार्दिङ २५८, दार्चुला १८८, कास्की १५९सङ्खुवासभा ५८, काठमाडौं ४६, कञ्चनपुरबाट ३९,भक्तपुर ३५,म्याग्दीबाट ३५ झापाबाट ३२ जनामा डेङ्गु पुष्टि भएको छ । 

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक  कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन  गर्न निर्देशन दिएको छ । 

चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । 

ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु, वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् ।

चिकित्सकका अनुसार डेङ्गु सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हाे । 

त्यसैले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला  भएका  लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव  भएसम्म लामखुट्टे भगाउने  धूप वा मलमको प्रयोग गर्ने । घरपालुवा पशुपंक्षी व्यवस्थित ढङ्गले पाल्ने, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने ।

यो पनि पढ्नुहोस