रेखीराम राना
पाल्पा, साउन २ गते । पाल्पाका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि जुनियर एनसीसी तालिम सुरु गरिएको छ । नेपाली सेनाको नेतृत्वमा सञ्चालन भएको तालिममा माथागढी–३, स्थित दिव्यज्योति माध्यमिक विद्यालय र तानसेन–९, स्थित दमकडा माध्यमिक विद्यालयका ७२ जना विद्यार्थी सहभागी भएका छन् ।
तानसेनस्थित नेपाली सेनाको दि फेसम महिन्द्र दल गणका गणपति प्रमुख सेनानी बालमुकुन्द विष्टले ३६ जना छात्र र ३६ जना छात्रा गरी ७२ जना छनाेट गरेपछि उनीहरूलाई ६ महिने तालिम दिन थालिएको जानकारी दिनुभयो । विद्यार्थीको आत्मविश्वास बढाउन, राष्ट्रप्रेम भाव जागृत गर्न, तथा नेतृत्व क्षमता बढाउन तालिमले सहयोग पुर्याउने प्रमुख सेनानी विष्टले उल्लेख गर्नुभयो ।
एनसीसीको तालिम पूरा गर्न केही अप्ठ्यारो भए पनि अन्ततः त्यसले व्यक्ति, समाज र देशलाई असल बनाउने विश्वास उहाँले गर्नुभयो । तालिमका लागि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीबाट छनाेट गरिएको थियो । जुनियर एनसीसी तालिममा पाल्पासहित देशभरका सात हजार सात सयभन्दा बढी विद्यार्थी जुनियर एनसीसी तालिममा सहभागी हुनेछन् ।
यसअघि सदरमुकामका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मात्र यो तालिम दिइएको थियो । यो वर्ष भने ग्रामीण भेगका दुई वटा विद्यालयका विद्यार्थीलाई तालिमको अवसर दिने गरी विद्यालय छनाेट गरिएको दि फेसम महिन्द्र दल गणले जनाएको छ । दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले एनसीसी तालिमले विद्यार्थीलाई अनुशासित र सिर्जनशील बनाउन सहयोग गर्ने बताउनुभयो ।