• ७ जेठ २०८१, सोमबार

बालक मृत्यु प्रकरण : मेडिकल सञ्चालकसहित दुई पक्राउ

blog

प्रेमराज सिम्खडा
कालीकोट, साउन २ गते । 
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–८ मा एक बालकको मृत्यु भएको छ । शनिबार साँझ ३ वर्षीय बालक आनुन दर्जीको मृत्यु भएको हो । बालकको मृत्यु प्रकरणमा एक जना स्थानीय मेडिकल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय मेडिकल सञ्चालक सोही ठाउँका धिरेन्द्र केसी र एक जना रेडक्रसका कर्मचारी रहेका छन् । मेडिकलबाट मृतक बालकले औषधि सेवन गरेको देखिएपछि अनुसन्धानका लागि प्रहरीले मेडिकल सञ्चालक केसी र कर्मचारीलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले घटना शङ्कास्पद भएकाले अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रहरी नायब उपरीक्षकले भन्नुभयो, ‘‘हामी अनुसन्धानमा छौँ, अहिले यसै हो भन्न मिल्दैन, मृतक बालकका मावलीले बालकको मृत्यु औषधि सेवनभन्दा पनि यातनाका कारणले मृत्यु भएको आरोप लगाइरहेका छन् । यसबारे अनुसन्धान भइरहेको छ ।’’ 

मृतक बालकका बाजेले आफ्नो नाति आनुन दर्जीलाई उनका बुवाले यातना दिएर मारेको बताउनुभयो ।

प्रहरी प्रमुख रिमालले बाहिर जे कुरा आए पनि आफूकहाँ बालकका बुवाको बारेमा कुनै निवेदन नपरेको बताउनुभयो । उहाँले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउनुभयो ।

मृतक बच्चाको रास्कोट अस्पतालमा पोस्टमार्टम भएको छ । पोस्टमार्टममा सङ्लन्न चिकित्सकले मृत्युको कारण भन्न नमिल्ने बताइरहेका छन् ।  मृतक बालकको अहिले सम्म जन्मदर्ता पनि छैन । वडा नं ८ का वडा अध्यक्ष नौलासिंह बुढाले वडामा जन्मदर्ताको कुनै प्रमाण नभएको बताउनुभयो ।