• ७ जेठ २०८१, सोमबार

मापदण्डविपरीत गैरकृषकलाई आर्थिक सहयोग

blog

पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पा । तस्बिर : विष्णुप्रसाद देवकोटा

विष्णुप्रसाद देवकोटा

डोल्पा, असार ३१ गते । पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाले गैर कृषकलाई चार लाख रुपियाँ भत्तावापत वितरण गरेको खुलेको छ ।आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पचासभन्दा माथि भेडाबाख्रा पालन गरेका कृषकलाई वितरण गर्नुपर्ने रकम गैरकृषकलाई वितरण गरेको पाइएको हो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयले कृषकलाई कर कट्टी गरेर प्रतिकृषक १७ हजार सातसय ३० रुपियाँका दरले चार लाख ७८ हजार ७१० रुपियाँ वितरण गरेको जनाएको छ । पचासभन्दा बढी भेडाबाख्रापालन गरेका कृषकलाई प्रोत्साहनस्वरुप वितरण गर्नुपर्ने रकम फिल्डमा खटिएका कर्मचारीको मिलोमतो र कार्यालय प्रमुखको निर्देशनमा भेडाबाख्रा नै नभएका गैर कृषकलाई रकम वितरण गरेको देखिएको छ । 

ठूलीभेरी नगरपालिकाका-९ जना, त्रिपुरासन्दरी नगरपालिकाका-६ जना, मुड्केचुला गाउँपालिकाका-४ जना, काइके गाउँपालिकाका-४ जना र छार्काताङसोङ गाउँपालिकाका-१ जना गरेर २७ जना कृषकलाई प्रोत्साहन रकम वितरण गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाको तथ्याङ्कमा उल्लेख छ ।

पशु कार्यालयको प्रोत्साहनवापतको गैरकृषकलाई वितरण भएको जनगुनासो आएपछि नेपाल पत्रकार महासंघको अगुवाइमा त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकालगायत काइके गाउँपालिकामा समेत स्थलगत पुगेर सञ्चारकर्मीले सोध अनुसन्धान गर्दा समेत गैर कृषकलाई मापदण्डविपरित रकम वितरण भएको पाइएको नेपालपत्रकार महासंघ डोल्पाका अध्यक्ष सरोज थापाले बताउनुभयो । 

पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका निमित्तप्रमुख जरबहादुर झक्रीसँग बुझ्दा फिल्डमा पुगेर प्राविधिकले ल्याएको तथ्याङ्कको आधारमा रकम वितरण भएको बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा निमित्त प्रमुख झक्रीले आफुसँग सञ्चारकर्मीलगायत केही कृषकको समेत गुनासो आएकाले छानवीन गरिने जानकारी दिनुभयो ।