• १३ साउन २०८१, आइतबार

बाँकेमा ५० प्रतिशत रोपाइँ, वर्षा नहुँदा खेत बाँझै

blog

बाँकेको खजुरामा रोपाइँ गर्दै किसान । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार ३१ गते । साउन महिना सुरु हुन लागिसक्दा समेत बाँकेमा पर्याप्त वर्षा नहुँदा हालसम्म ५० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र नेपालगञ्जका अनुसार असार–साउन महिना सुरु हुन लागेको बेलासम्म पनि पश्चिम नेपालमै सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामध्ये बाँकेमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशत मात्र रोपाइँ सकिएको हो । 

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख शकील अहमदले यस वर्ष हालसम्म बाँकेमा राम्रो वर्षा नै नभएकाले असार ३१ गते भइसक्दा समेत आधा मात्रै रोपाइँ सम्पन्न हुन सकेको बताउनुभयो । उहाँले सिक्टा सिँचाइ आयोजनाको नहर पुगेको क्षेत्र र कृषि ज्ञान केन्द्रले स्यालो ट्युबवेलमार्फत सिँचाइ सुविधा पुगेको क्षेत्रको करिब १८ हजार हेक्टर क्षेत्रमा मात्रै हालसम्म रोपाइँ भएको बताउनुभयो । 

जिल्लामा राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले गर्दा किसानलाई धेरै राहत भए पनि अझै अधिकांश ठाउँमा आकाशे पानीकै भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख अहमदले सिक्टा सिँचाइ आयोजनाको निर्माण पूरा हुनुका साथै अन्य विभिन्न साना सिँचाइ योजनाको निर्माण गर्न सकिए मात्रै समयमा धान रोपाइँ गर्न सकिने बताउनुभयो । 

उहाँका अनुसार अहिलेसम्म पनि पर्याप्त वर्षा नभएका कारण जिल्लाको नरैनापुर र जानकी गाउँपालिका तथा कोहलपुर नगरपालिकाका अधिकांश जग्गामा रोपाइँ हुन सकेको छैन । प्रमुख अहमदले भन्नुभयो, ‘अझै केही दिन पर्याप्त वर्षा भएन भने गतवर्ष सुख्खा भएको नरैनापुरमा फेरि पनि समस्या हुने देखिएको छ । सो पालिकामा अन्य वैकल्पिक व्यवस्थाबारे अहिलेबाट नै योजना बनाउन थालेका छौं ।’

जिल्लाको खजुरा, बैजनाथ, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा भने सिँचाइ सुविधा अन्य ठाउँभन्दा बढी रहेकाले यी पालिकामा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । साउन शुरु हुन लाग्दासम्म पनि पर्याप्त पानी नपर्दा जिल्लामा यस वर्ष समयमा धान रोपाइँ सम्पन्न नहुने र सोही कारणले धान उत्पादन घट्ने किसानहरुले जनाएका छन् । 

जानकी गाउँपालिका –३ का किसान रमेश बर्माले साउन शुरु हुन लागिसक्दासम्म पनि वर्षा नभएकाले रोपाइँ नहुँदा यस पटक उत्पादन नै घट्ने चिन्ताले सताउन थालेको बताउनुभयो ।  बाँकेमा ३६ हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुने गरेकोमा हालसम्म करिब १८ हजार हेक्टरमा मात्रै रोपाइँ हुन सकेको छ ।