• ८ मंसिर २०८१, शनिबार

कलाकारको पुस्तक मोह

blog

काठमाडौँ, असार ३१ गते । पछिल्लो समय कलाकारहरूमा पुस्तक प्रतिको मोह बढेको छ । कतिपय कलाकारले विविध विधाका पुस्तकलाई पढ्नुलाई आफ्नो नियमित दिनचर्या नै बनाएका छन् । पुस्तकमा समाज प्रतिविम्बित हुने भएकाले राम्रो कलाकार र निर्देशक बन्न सकेसम्म अधिक पुस्तक पढ्नु पर्ने आवश्यकता कलाकारहरू स्वयं औँल्याउँ छन् । 

रङ्गकर्मी तथा निर्देशक सुनील पोखरेलले हरेक मानिसले पुस्तक आआफ्नै रुचि, आवश्यकता र उद्देश्य अनुसार पढ्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुस्तक अन्धकारमा बलेको दीप जस्तै हो जसले हामीलाई उर्वर जीवन जीउन मद्दत गर्छ । म जीवन, जगत् र स्वयंलाई  बुझ्न पुस्तक पढ्छु ।” उहाँले कति पुस्तक आफ्नो कामसँग सम्बन्धित हुने हुनाले पनि पढ्नुपर्ने बताउनुभयो । उहाँ अहिले मारियो पुजोको ‘दी लास्ट डन’ र गुरचरन दासको ‘दी डिफिकल्ट अफ बिइङ गुड’ पढ्दै गरेको बताउनुहुन्छ ।  

उहाँ भन्नुहुन्छ, “पछिल्लो समय जुन गतीमा नयाँ नयाँ पुस्तक बजारमा आएको देखिन्छ । त्यसबाट समाज र नयाँ पुस्तामा अध्ययन संस्कृति बढेको विश्वास गर्न सकिन्छ ।”

आधुनिक सञ्चार माध्यमको प्रभावले समाजमा पठन संस्कृति हराउँदै गएको गुनासो लेखकहरूको रहने गरेको भए पनि अहिले समाजमा क्रमशः त्यो बढ्न थालेको देखिन्छ । बजारमा आएका नयाँ पुस्तक पढेर जमघटहरूमा त्यसको चर्चा परिचर्चा गरेर कलाकारहरूले पनि आफ्नो छुट्टै पहिचान प्रस्तुत गर्न खोजेको देखिन्छ । 

नायिका केकी अधिकारी विभिन्न क्षेत्र र विषयको ज्ञान लिन र त्यसमा आफ्नो धारणा विकास गर्न आफूले पुस्तक पढ्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुस्तक पढ्नाले कुनै पनि विषयमा आफ्नो दृष्टिकोण स्पट बनाउन सकिन्छ । ज्ञान प्राप्त भएपछि निडर भइन्छ र आत्मविश्वास पनि बढ्छ ।” समाज र त्यहाँका अन्तरवस्तुलाई सूक्ष्म तरिकाले बुझ्न पनि पुस्तक पढ्न जरुरी भएको उहाँको भनाइ छ । पछिल्लो पुस्तामा बढेको पठन संस्कृति उहाँलाई लोभ्याउने गरेको बताउनुहुन्छ । उहाँ अहिले बुद्धि सागरको कर्णाली ब्लुज पढिरहनुभएको छ । 

प्रविधिमा भएको विकासले पढ्ने तरिकामा पनि परिवर्तन भएको छ । युवा पुस्ता अहिले कागजी पुस्तक होइन डिजिटल पुस्तक बोकेर हिँड्न थालेका छन् । हातको मोबाइलबाटै विश्वभरका पुस्तकालयसँग उनीहरूको पहुँच बढेको छ । उनीहरूले जुनसुकै समयमा आफ्ना रुचिका पुस्तक छानेर पढ्न सक्ने अवस्था बनिसकेको छ । स्वयं पढ्न अल्छी मान्नेहरूका लागि सुन्ने पुस्तक पनि कमी छैन । यसैले पनि धेरैको एकान्तको आत्मीय साथी पुस्तक हुन थालेको छ ।   

रङ्गकर्मी आशान्त शर्मा अहिले सआदत हसन मन्टोको किङ्डम्स इन्ड नामक कथा सङ्ग्रह पढिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पुस्तक पढ्नु मेरा लागि बौद्धिक खुराक प्राप्त गर्नु हो । आफ्नोबाहेक अन्यको परिवेश बुझ्नु हो । कहिलेकाहीँ नयाँ कुराको जानकारी लिनका लागि पनि पुस्तक पढ्छु ।” अध्ययनले ज्ञानको सीमालाई फराकिलो पार्ने उहाँको भनाइ छ । उहाँ पुस्तकले देश, काल र परिस्थिति बुझ्न सघाउने धारणा व्यक्त गर्नुहुन्छ । 

उहाँको  विश्व र जगत्का बारेमा बुझ्न पनि पुस्तक सहायक हुने उहाँको विश्वास छ । पुस्तकलाई डिजिटलभन्दा कागजी स्वरूपमा नै पढ्न रमाइलो मान्ने शर्मा भन्नुहुन्छ, “प्रायः व्यक्तिहरू पुस्तकभन्दा मोबाइलमा वा ल्यापटपमा डिजिटल कोडहरू पढ्नमा समय व्यतित गरेको देख्छु । राम्रै कुनै पुस्तक पढ्न सुझाव दिँदा पनि नेटमा छ कि छैन भनेर सोध्ने गर्छन् । योचाहिँ अलि चिन्ताजनक लाग्छ ।” मानिस समाजले गरेका विविध विधा र विषयका अध्ययन, अनुसन्धान, अन्वेषण र  उपलब्धिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने साधन पनि पुस्तक नै भएको उहाँको भनाइ छ ।