तपाईं प्रचारप्रसार गरिरहनुहोस्
म नगरिरहुँला
तपाईं बाँचिरहनुहोस्
म मरिरहुँला ।
तपाईं पिठो बेचिरहनुहोस्
म चामल रुङिरहुँला
तपाईं झुमिरहनुहोस्
म उङिरहुँला ।
तपाईं खुसी भइरहनुहोस्
म नभइरहुँला
तपाईं उफ्रिरहनुहोस्
म कुप्रिरहुँला ।
तपाईं बाङ्गोटिङ्गो हिँडिरहनुहोस्
म सोझै बाटो हिँडिरहुँला
तपाईं छिट्टै पुग्नुहोस्
म ढिलै पुगुँला ।
मुख्य कुरो ‘शिर’को न हो
तपाईं कहिले झुक्नु होला
कहिले चुक्नु होला
कहिले लुक्नु होला
मेरो शिर भने सधैँ ठाडो
बाँचे पनि ठाडो
मरे पनि ठाडो ।