हिमचुली हाँस्छन् पिरती गाँस्छन् जीवनको जुहार
असारलाई सार यही बारम्बार घामको मुहार ।
आकाशमा बादल घुम ओडी आउँछन् फूलको जवानी
जीवन र जगत् सर्वेश्वर एकसाथ मानिसको कहानी ।
ए ! बाउसे रोपार मनका आली चन्द्रमा हाँसेका
जीवन र जगत् पसिना मूल्य धरतीमा गाँसेका ।
आमाको आँसु मनमा नहोस् युगलाई भार हुन्छन्
शीतल गङ्गा हरपल बगुन नबगे जून रुन्छन् ।
अन्नका दाना अमृत खाना खेतका धान बाली
यो धरती चुम्ने सर्वलोक घुम्ने हामी नै हौँ माली ।
यही हावापानी धरती आकाश अग्निको खेल हो
असारमा खेत रोपेको रोपो जिन्दगी सफल भो ।
हामी नै हाम्रा जवानी ज्यानका आधारभूमि हौँ
बिम्झेर घाम असारे खेत्मा बिउ रोप्न लम्कौँ लौ ।
एकपल नहोस् निरीह जीवन नेपाल आमा हे
चेतना ज्योति बलेनन् भने सामथ्र्य हुन्छ के ।
नयन चिम्ली जिम्दैमा जिम्ली निर्लज्ज झरेको
वीरका शिर शिखर सार हौँ छैनौँ है मरेको ।
आरती गाउने ईश्वरको आँगन असारे भाखामा
दैवका आँखा इमानको खेती पर्दैन पाखामा ।
गरेको कर्म धर्मको धाम सार्थक होस् असार
आखिर धरती एउटै घर हो बनेको कसार ।
छाडेर जाने जीवनको सार अमृत धारा होस्
पुर्खाको पौरख ईशको आँगन लाउनु छैन दोष ।