• १३ साउन २०८१, आइतबार

राज्यबाट पाउने सुविधा नपाएको किसानकाे गुनासो

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असार २९ गते । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा किसानहरुले राज्यबाट पाउनुपर्ने सुविधा पाउन नसकेको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७९-०८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित मङ्गलाबासीले कृषि र पशुपालनको अनुदान वितरणमा वास्तविक किसानलाई समेट्न नसकिएकोतर्फ ध्यानाकर्षण गराउँदै आगामी दिनमा समेट्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस मङ्गला गाउँपालिकाका सभापति नरसिङ खत्रीले कृषि र पशु क्षेत्रमा वितरण गरेको अनुदान बालुवामा पानी हालेको जस्तै भएको बताउनुभयो । उहाँले अनुदान प्राप्त गरेका किसानले कृषि औजार प्रभावकारी रुपमा प्रयोग गरेर प्रतिफल आउने किसिमले काम गरेका छन् वा छैनन् भन्ने विषयमा सबैले अनुगमन बढाउन आग्रह गर्नुभएको थियो । गाउँपालिकाको केन्द्रसमेत रहेको बाबियाचौर बजारको फोहोर व्यवस्थापन लामो समयदेखि हुन नसकेको, गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रममा वार्षिक प्रगति सार्वजनिक नगरेको गुनासो केसीले गर्नुभयो।

१० शैयाको अस्पताल निर्माणमा ढिलासुस्ती, विद्यालय स्तरमा गठन भएका बाल क्लबहरुलाई क्रियाशील बनाउनु र्ने, जनचेतनामूलक कार्यक्रममा ध्यान दिनुपर्ने, विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई ध्यान दिनुपर्ने, सडकको स्तरोन्नतिमा प्रभावकारी रुपमा मापदण्ड कार्यान्वयन गर्नुपर्ने जस्ता विचार सहभागीले राखेका थिए । पूर्वाधार निर्माणमा गुणस्तरीय सामान प्रयोग भएको छ वा छैन भन्ने विषयमा प्रभावकारी निरीक्षण र अनुगमन हुनुपर्ने र भवन लगायतको पूर्वाधार क्षेत्रमा गुणस्तरीय सामान प्रयोग गर्नुपर्ने माग गरेका थिए ।

मङ्गला शिक्षा क्याम्पसको अलपत्र छात्राबास भवनलाई गति दिन, झाँक्रीपानी, चिनाकोटलगायत पर्यटकीय पूर्वाधार विस्तारमा जोड दिन, गाउँपालिकाभित्र कार्यान्वयन हुने सङ्घ र प्रदेशका पूर्वाधारका योजनाहरु गाउँपालिकाले चासो देखाउन सुझाव दिनुभएको थियो ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाले कृषि र पशुपालनमा वितरण गरेको अनुदानको प्रतिफल देखिँदै आएको बताउँदै कहिकतै अनुदान दिँदा मिसयुज भएको भए त्यसलाई सुधार गर्ने बताउनुभयो । “गाउँबाट उर्जाशील युवाहरु विदेश पलायनले गर्दा खेतीबारी बाँझो हुने बढ्न सक्नेतर्फ ध्यान दिँदै केही गर्छु भन्ने युवाहरुलाई छनोट गरेर अनुदान दिएका छौं,” उहाँले भन्नुभयो । अस्पताललाई पूर्णता दिन एक वर्षको म्याद थपको तयारी भएको रोकाले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले सडकको मापदण्ड अनुसार स्तरोन्नति गर्न सबैको साथ सहयोग आवश्यक हुने बताउनुभयो । 

गाउँपालिकाभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक, व्यवस्थापन समिति र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उपाध्यक्ष प्रेमकुमारी खत्री क्षेत्रीले सानादेखि ठुला योजनाहरुको कार्यान्वयन स्थलमै पुगेर अनुगमनपश्चात् भुक्तानी दिएको बताउनुभयो । अनुगमनको क्रममा कृषि र पशुपालनका अनुदानलाई किसानले अझै राम्रोसँग सदुपयोग गर्न नसकेको भान आफूलाई भएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले निर्माण व्यवसायीलाई एक वर्षभित्र अस्पतालको काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको बताउनुभयो । उहाँले सडक स्तरोन्नतिमा मापदण्ड कार्यान्वयनमा प्राविधिकलाई सबैले सहयोग गर्न आग्रह गर्नुभयो । 

इन्जिनियर रुचेन्द्र अधिकारीले बाटोको स्तरोन्नतिमा गुणस्तरीय सामानहरु प्रयोग भएको छ वा छैन नापजाँच गर्ने प्रविधि र जनशक्तिको अभाव भएको बताउनुभयो । विकास निर्माणमा गुणस्तरीय सामानहरु प्रयोग भएको छ वा छैन भन्ने विषयमा जानकारी लिनका लागि पोखरा पुर्याउनुपर्ने बाध्यता गाउँपालिकामा रहेको उहाँले बताउनुभयो ।