मीना कंडेल
कावासोती (नवलपुर), असार २९ गते । नवलपुरको कावासोतीमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ । साइकल पर्यटनबारे जानकारी होस् भन्ने उद्देश्यका साथ नवलपुरका तीन ठुला नगरलाई समेट्ने गरि आयोजना गर्नका लागि ‘कोरा साइक्लिङ च्यालेन्ज’को तयारी पुरा भएको आयोजकले जनाएको छ ।
कुनैपनि पवित्र तीर्थ स्थललाई तीर्थ यात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ । प्रत्येक वर्ष असार महिनाको तेस्रो शनिबार नेपालका विभिन्न स्थानहरु लगायत विदेशमा समेत सोही दिन वार्षिक रुपमा ‘कोरा साइक्लिङ च्यालेन्ज’ कार्यक्रम गरिँदै आएको छ । यस वर्षपनि कावासोती साइक्लिङ गु्रपले नेपालीहरुलाई साइकल पर्यटनबारे जानकारी दिन असार ३० गते कावासोतीमा कोरा साइक्लिङ्ग च्यालेन्ज गर्ने भएको हो ।
कार्यक्रममा करिब १ सय जना साइक्लिङ्ग सहभागी हुने भएका छन् । कावासोतीमा करिब ५० किलोमिटर साइक्लिङ्ग गर्ने भएको आयोजक संस्था कावासोती साईक्लिङ ग्रूपका अध्यक्ष ज्योती श्रेष्ठले बताउनुभयो । सो कार्यक्रममा सहभागी हुने साइकल यात्रीहरुले नगरमा रहेको विभिन्न प्रमुख धार्मिक स्थलहरु तथा पर्यटकीय स्थलहरुलाई घडीको दिशामा परिक्रमा गरी ५० किलो मिटरको यात्रा पुरा गर्ने छ र साइकल यात्राको शुभारम्भ कावासोतीस्थित नर्मदेश्वर शिवालय मन्दिर अगाडिबाट गरिने कोषाध्यक्ष मदन क्षेत्री बस्नेतले बताउनुभयो । कावासोतीबाट देवचुली छुँदै मध्यविन्दुका विभिन्न स्थान परिक्रमा गरि पुन : कावासोती शिवालय मन्दिर परिसरमा आएर कार्यक्रम समापन हुनेछ ।
स्वास्थ्यका लागि साईक्लिङ्गको महत्व बुझाउन, धार्मिक स्थलहरूको प्रचार र यहाँका पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्न कोरा साइक्लिङ च्यालेन्ज गर्नु आवश्यक रहेको र जिल्ला प्रहरी कार्यालयले पनि पूर्ण सहयोग गर्ने प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । कोरा साइक्लिङ च्यालेन्जमा सहभागीलाई कम्युनिटि इन्भारमेन्टल पोलिसिङ तथा सिफ्टु एक्टिभ मोविलिटिका बारेमा जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, “पछिल्लो समय मानिस धेरै विलासिन जीवन बिताउने भएकाले रोग लाग्ने गरेको छ । त्यसैले आफ्नो स्वास्थ्य र लाइफ स्टाइलमा फेरवदल ल्याउने हुँदा बच्चालाई पनि यसबारे सुरुदेखी ज्ञान दिनुपर्छ । ”
आधिकारिक रुपमा दर्ता भएका सहभागीहरुको संख्याको आधारमा नवलपुरको कावासोती काठमाडौं र भक्तपुरपछि तेश्रो स्थानमा रहेको छ । यस वर्ष कोरा साइक्लिङ च्यालेन्ज २०२३
नवलपुरको कावासोती लगायत काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, हेटौंडा, पोखरा, दमक, बिर्तामोड र झापा, नेपालगञ्ज, धरान, लम्जुङ, महेन्द्र नगर, दाङ, उदयपुर, गाईघाट, विराटनगर, विरगञ्ज, धनगढी, बुटवल, बारा लगायत अमेरिका, क्यानाडा र कस्सेलमा एकै साथ आयोजना हुँदैछ ।