• १३ साउन २०८१, आइतबार

गुल्मीमा माटो परीक्षण प्रयोगशाला स्थापना

blog

रमेश विश्वकर्मा

गुल्मी, असार २८ गते । गुल्मीमा पहिलो पटक माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकहरूको मागलाई मध्यनजर गर्दै जिल्लामै पहिलो पटक माटो परीक्षणका लागि प्रयोगशालाको स्थापना गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको हो । 

“प्रविधिको विस्तार, अध्ययन, अनुसन्धान सेवामूलक काम, कृषकलाई आइपर्ने समस्या समाधान गर्ने पहिलो कार्य कृषि ज्ञान केन्द्रको हो,” उहाँले भन्नुहुन्छ, “कृषि ज्ञान केन्द्रसँग कृषकको पहिलो गुनासो माटो परीक्षण भएन । हाम्रो जग्गा कस्तो छ ? हाम्रो जग्गाको माटो कस्तो छ ? त्यो माटोमा कुन बाली लगाउँदा उपयुक्त हुन्छ ? भनेर कृषकले सोधिरहेका हुन्छन् ।”

कृषकहरूको सहजताका लागि माटो परीक्षण प्रयोगशाला कृषि ज्ञान केन्द्रमा स्थापना गरेको भण्डारीले बताउनुभयो । यसअघि खजुरा, नेपालगञ्ज, पोखरा जस्ता स्थानमा रहेका ल्याबमा माटो परीक्षणका लागि पठाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।   

विशेषगरी जिल्लाका दुरदराजमा रहेका कृषकलाई केन्द्रित गरी प्रयोगशाला सञ्चालन गरिएका भन्दै प्रयोगशालामा माटोमा रहेको नाइट्रोजनको अवस्था, फसफोरसको मात्रा, माटोमो रहेको अमिलियपनको अवस्था, अर्गानिक मेटलको अवस्थाका विषयमा पत्ता लगाउने काम हुने बताउनुभयो । जिल्लामै कृषिमा नयाँ कामको थालनी समेत गरिएको छ । प्रयोगशालाका माध्यमबाट कृषकसमक्ष विज्ञता समेत पुग्ने उहाँले बताउनुभयो । 

कृषकको अपेक्षा पनि प्रविधि, प्राविधिक रूपमा रहेका कठिनाइहरूको समस्या समाधान रहेको बताउँदै ल्याब सञ्चालनका लागि दुई जना प्राविधिकहरूलाई खइटाएको छ । उनीहरूलाई तीन दिनसम्म तालिम समेत प्रदान गरिएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । 

“माटोको नमुना सङ्कलनका लागि हरेक स्थानीय तहमा कृषि प्राविधिक पनि रहेका छन् । माटोको नमुना सङ्कलनका लागि उहाँहरूको सहयोग पनि लिन सकिन्छ,” उहाँ भन्नुहुन्छ, “दुई दिनमै माटो परीक्षण गरी हेल्थ कार्ड नै बनाएर सिफारिस गर्छौँ । जसले गर्दा कृषिको उत्पादन वृद्धि हुन्छ । कृषकका समस्या पनि समाधान हुन्छन् ।” 

माटोको उत्पादकत्वलाई जीवन्त राख्नका लागि पनि यो प्रयोगशालाले महत्त्वपूर्ण योगदान पुर्‍याउने भण्डारीले बताउनुभयो । जिल्लामा माटो परीक्षण प्रयोगशाला स्थापना भएपछि कृषकहरू पनि अत्यन्तै खुसी भएका छन् ।