कोभिड–१९ प्रभावपछि रुस युक्रेन युद्धको अन्तर्राष्ट्रिय असरले जटिल बनेको मुलुकको अर्थतन्त्रका कतिपय परिसूचक सकारात्मक देखिएका छन्। खास गरी अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको छ तर आन्तरिक अवस्था भने अझै सन्तोषजनक छैन। नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको देखाएको हो। एक वर्षअघि अर्थतन्त्र सङ्कटको सँघारमा पुग्न लागेको भन्दै सरकार तथा केन्द्रीय बैङ्कले आयातमा नियन्त्रण नीति लिएका थिए।
सोही नीतिले अर्थतन्त्र सम्हालियो। फलतः चालु वर्षको जेठ महिनासम्म अर्थतन्त्रका बाह्य सूचक सकारात्मक अवस्थामा पुगेको छ। विदेशी मुद्राको बचत छ, आन्तरिक रूपमा महँगी अझै उच्च नै छ। रोजगारी सिर्जना हुन सकेको छैन। आर्थिक वृद्धि कमजोर छ। दह्रो अर्थतन्त्रका लागि आन्तरिक अवयव बलियो हुनुपर्ने छ। आन्तरिक उत्पादन वृद्धि हुनु पर्छ। मुटु स्वस्थ भए जिउ बलियो हुन्छ।
सार्वजनिक तथ्याङ्क अनुसार जेठसम्म वार्षिक उपभोक्ता मुद्रास्फीति १.७३ प्रतिशतले घटेको छ तर अझै महँगी ६.८३ प्रतिशत छ। यो उच्च नै हो। विदेशमा गएका नेपालीले पठाउने पसिनाको मोल अर्थात् विपे्रषण नेपाली रुपियाँमा २२.७ प्रतिशत र अमेरिकी डलरमा १३ प्रतिशतले बढेर ११ खर्ब १२ अर्ब ५२ करोड पुगेको छ। यस्तै शोधनान्तर स्थिति पनि बचतमा देखिएको छ। वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आएको छ। आयात १६ प्रतिशतले, निर्यात २२.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले घटेको छ। विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले बढेको छ। बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ८.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशतले बढेको पनि राष्ट्र बैङ्कले जनाएको छ।
पछिल्लो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या ४६.६ प्रतिशतले वृद्धि भई चार लाख ५९ हजार चार १५ पुगेको छ। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ०.५ प्रतिशतले वृद्धि भई दुई लाख ६० हजार २६२ पुगेको छ। यो विप्रेषणमा रमाउनका लागि राम्रो होला तर मुलुकको उत्पादक जनशक्ति निर्यात गरेर बाहिरबाटै चिजबिज किनेर खाने परनिर्भरता बढाउने सिलसिला हो। यो सिलसिलाले अर्थतन्त्रमा जोखिम बढाएको छ। विप्रेषण आप्रवाह दिगो हुँदैन र आन्तरिक उत्पादन कमजोर हुँदा यसले आयातलाई अझ बढाउँछ। विप्रेषणका उत्पादनशील सदुपयोग हुने नीति र कार्यक्रम अभाव छ। विप्रेषणलाई आन्तरिक उत्पादन बढाउने स्रोतका रूपमा प्रयोग गर्ने नीति अपेक्षित छ। कृषिप्रधान मुलुकमा खेतीयोग्य जमिन बाँझो रहने गरी युवाजनशक्तिलाई सस्तो श्रममूल्यमा विदेश जान निर्वाध स्वीकृति दिने नीतिमा पुनर्विचार गर्नुपर्ने छ। वार्षिक २७ अर्बको प्याज आयात गर्ने अनि निर्यातक मुलुकले रोकिदियो भने आँसु चुहाउने ? हामी के प्याज खेती गर्न सक्दैनौँ ? हामी विदेशी होइन स्वदेशी प्याज खान्छौँ भन्ने राष्ट्रवाद प्रोत्साहित हुनु आवश्यक छ। सरकारले ल्याएको प्याज मिसन कहाँ के अवस्थामा छ ? कसले खोज्ने ?
नेपाल राष्ट्र बैङ्कका अनुसार ११ महिनामा वस्तु निर्यात २२.७ प्रतिशत घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो। उच्च आयात र न्यून निर्यातले व्यापारमा देशभित्र आउने पैसाभन्दा जाने पैसा ठुलो छ र धन्न त्यो विप्रेषणले धानिएको छ। जेठ मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ। विलासी, रवाफी वस्तु होइन, अत्यावश्यक वस्तु र कच्चा पदार्थको आयात गरी स्वदेशी पुँजी, श्रम र स्रोत प्रयोगमार्फत उत्पादन बढाएर निकासी प्रवर्धन गर्ने नीति अख्तियार गर्दा पनि व्यापार घाटा कम गर्न सकिने नीति आवश्यक छ। कुल विदेशी विनिमय सञ्चितिले मुलकको नौ महिनाको आयात धान्न सक्छ तर धेरै विद्यार्थी पढ्नका लागि विदेश जाने प्रवृत्ति बढ्दो छ जसले विदेशी मुद्रा नै लैजान्छन्। विदेशी मुद्राको मूल स्रोत विप्रेषण नै हो र यो जोखिमयुक्त छ। त्यसैले पनि अबको मौद्रिक नीतिले अर्थतन्त्रमाथिका दबाब कम गर्ने र वित्तीय स्थायित्वका उपाय अपनाउनु आवश्यक छ। देशभित्रकै उत्पादनलाई बढोत्तरी दिन अर्थतन्त्रमा राष्ट्रको नीति बहस वाञ्छनीय छ।