• ८ मंसिर २०८१, शनिबार

नेपाल भारत र चीनबीचको बाघ : विलमेन्द्र निधि

blog

जनार्दन राय नागर राजस्थान विद्यापीठमा मङ्गलबार आयोजित नेपाल–भारत सम्बन्ध विषयक प्रवचन कार्यक्रम सहभागी हुनुहुँदै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ।

काठमाडौं, असार २७ गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत र चीनलाई हात्तीको संज्ञा दिँदै नेपाल यी दुई ठूला देशको बीचमा रहेको बाघ भएको बताउनुभएको छ ।

जनार्दन राय नागर राजस्थान विद्यापीठमा मङ्गलबार आयोजित नेपाल–भारत सम्बन्ध विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता निधिले यस्तो बताउनुभएको हो । उहाँले नेपालको स्वाभिमानी मुलुक भएको उल्लेख गर्नुहुँदै इतिहासमा कहिल्यै कसैको उपनिवेशमा नपरेको स्पष्ट पार्नुभयो ।

भारतको स्वतन्त्रता आन्दोलनमा बीपी कोइराला, सुवर्ण शम्सेर, गणेशमान सिंह, मनमोहन अधिकारी, महेन्द्रनारायण निधि, रामनारायण मिश्र जस्ता नेताहरुले सहयोग गरेको स्मरण गर्नुहुँदै नेता निधिले त्यसको बदलामा भारतले पनि नेपालको लोकतन्त्र पुनर्बहालीमा सहयोग गरेको स्मरण गर्नुभयो ।

भारतमा लोकतन्त्र सुदृढ भए नेपालको लोकतन्त्रलाई सहयोग पुग्ने र नेपालमा लोकतन्त्र सुदृढ भए भारतको लोकतन्त्रलाई पनि सहयोग पुग्ने निधिको भनाइ छ । आर्थिक नीतिका सन्दर्भमा पनि दुबै देश एकअर्कामा निर्भर भएको उहाँले बताउनुभयो ।

छिमेकीका नाताले चीन र भारतसँग नेपालको पुरानो सम्बन्ध भएको उहाँले चर्चा गर्नुभयो । निधिले भन्नुभयो, ‘‘चीनसँग नेपालको मित्रता छ, भारतसँग नाता छ ।’’ त्रेतायुगमा सीता र रामको विवाह भएको चर्चा गर्नुहुँदै निधिले नेपाल भारतीच बेटी रोटीको सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

नेपाललाई भारत विरोधी देशका रुपमा नबुझ्न नेता निधिले भारतीय नागरिकहरुलाई आग्रह गर्नुभयो । नेपालमा भारत विरोधी कोही पनि नभएको भन्नुहुँदै उहाँले नेपालका कम्युनिष्टहरुले समेत भारतमा भूमिगत जीवन बिताएको सन्दर्भ उल्लेख गर्नुभयो ।

त्यस अवसरमा जनार्दन राय नागर राजस्थान विद्यापीठका उपकुलपति शिबसिं सारंगदेवले भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।

मङ्गलबार नै नेता निधि भूपाल नोबेल विश्वविद्यालयमा आयोजित कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । त्यस अवसरमा सो विश्वविद्यालयका कुलपति शिबसिं सारंगदेवले नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाई भविष्यमा सहयोग आदानप्रदानका लागि विश्वविद्यालयका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।