• १४ असार २०८१, शुक्रबार

मैथिली भाषा साहित्य पुरस्कारबाट चौधरी पुरस्कृत

blog

धर्बेन्द्र झा 

धनुषा, असार २६ गते । विद्यापति पुरस्कार कोषले मैथिली भाषाको विभिन्न चार विधामा २०७९ सालका लागि घोषणा गरेको पुरस्कार वितरण गरेको छ । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार एक कार्यक्रमको आयोजना गरी संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको हातबाट उक्त पुरस्कारहरु वितरण गरिएको हो । 

मैथिली भाषा साहित्यको क्षेत्रमा नोवेल पुरस्कार झै मानिएको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार २०७९ वाट धनुषाको बिदेह नगरपालिका वडा नं. २ का बरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरीलाई पुरस्कृत गरिएको छ । 

उक्त पुरस्कारको राशी दुई लाख रुपियाँ रहेको कोषले जनाएको छ । त्यसैगरी नेपाल विद्यापति मैथिली कला सँस्कृति पुरस्कार २०७९ बाट मैथिली भाषाका प्रसिद्ध गायक आभाष लाभ र मैथिली रंगकर्मी बैद्यनाथ पटेल पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशी एक लाख रुपियाँ रहेको र एउटै पुरस्कार दुइजनालाई प्रदान गरिएको कारण त्यसै राशीबाट दुवै जनालाई ५०/५० हजार रुपियाँ प्रदान गरिएको कोषले जनाएको छ । 

त्यसैगरी नेपाल विद्यापति पाण्डुलिपि पुरस्कार २०७९ बाट बरिष्ठ साहित्यकार महेन्द्र कुमार मिश्र र नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार २०७९ बाट रमेशकुमार यादवलाई पुरस्कृत गरिएको छ । उक्त दुवै पुरस्कारको राशी एक/एक लाख रुपियाँ रहेको छ । 

पुरस्कृत हुने सबैलाई संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री किराँतीले पुरस्कारको रकम उल्लेख भएको चेक, प्रमाणपत्र र दोसल्लाह ओढाएर पुरस्कृत तथा सम्मानित गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले विद्यापति भावनात्मक एकताको प्रतिक रहेको बताउनुभयो । 

उहाँले विद्यापतिको साहित्यले नेपाल र भारत विचको साहित्यक सम्बन्धलाई अझ बढी प्रगाढ बनाएको भन्दै विद्यापतिले मैथिली साहित्यको लागि गरेका योगदानको बारेमा जती बहस गरे त्यो थोरै हुने  बताउनुभयो ।

उहाँले नेपालको राष्ट्रिय अभिलेखमा विद्यापतिको पाण्डुलिपी अझै दर्ज रहेको भन्दै मैथिली भाषाले मधेश र पहाडलाई जोडने गरेको  बताउनुभयो । उहाँले मल्ल कालमा काठमाडौंमा मैथिली भाषामा नाटकहरु मंचन हुने गरेको भन्दै मैथिली भाषाको संरक्षण सम्बर्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा मधेश सरकारका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले विद्यापतिको इतिहासलाई संरक्षण गर्दै हामीले अघि बढनु पर्ने बताउनुभयो । विद्यापति पुरस्कारकोषका अध्यक्ष रामबाबु चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा वृहतर जनकपुर क्षेत्र बिकास परिषदका अध्यक्ष सितल साह, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहाल सहित विभिन्न क्षेत्रका व्यक्ति र साहित्यकारहरुको सहभागिता रहेको थियो ।