• १३ साउन २०८१, आइतबार

सरकार र निजी क्षेत्र नमिली खेल क्षेत्रको प्रवर्द्धन हुन सक्दैन : मन्त्री लिम्बू

blog

‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक विमोचन गरिँदै । तस्बिर सौजन्य : ग्राफिक आर्ट्स

काठमाडौं, असार २६ गते । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताउनुभएको छ । 

मङ्गलबार काठमाडौंमा आयोजित लेखक नवीन अर्यालको कृति ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको भन्दै उहाँले सबै मिलेर खेलक्षेत्रको विकासमा जुट्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवर्द्धन हुन सक्दैन । निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको अवस्था छ । निजी क्षेत्रलाई नजोडी खेल क्षेत्र अघि बढ्न सक्दैन भनेर विभिन्न कार्यक्रममा पनि जोडिरहेका छौँ ।’’ मन्त्री लिम्बूले खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको पनि बताउनुभयो ।

पुस्तकको मन्त्री लिम्बूसहित शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनकी अध्यक्ष श्रीमती रेणु शाह, प्राध्यापक पी. खरेल, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउन सफल एथलेटिक्स खेलाडी जीतबहादुर केसी, एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, लेखक अर्याल र पुस्तकको प्रकाशक संस्था क्रिएटिभ बुक्सका टीएस ठकुरीले संयुक्त रूपमा विमोचन गर्नुभयो । 

कार्यक्रममा एनओसी अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको विकासमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव शरदचन्द्र शाहको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । 

यस्तै प्राध्यापक पी.खरेलले आफूले खेलकुद पत्रकारिता गर्दाको क्षण स्मरण गर्दै नेपाली खेलकुदको विकासमा तत्कालीन सदस्यसचिव शाहको योगदान महत्त्वपूर्ण रहेको स्मरण गर्नुभयो । उहाँले सदस्यसचिव शरदचन्द्र शाहले वृहत् राष्ट्रिय खेलकुद, अन्तर नगर खेलकुद र दक्षिण एसियाली खेलकुदको सुभारम्भ गरेको बताउनुभयो । उहाँले पुस्तक उच्च कोटीको रहेको समेत उल्लेख गर्नुभयो । 

पुस्तकका लेखक अर्यालले पुस्तकलाई तथ्यगत रूपमा ओजपूर्ण बनाउन आफूले सक्दो प्रयास गरेको बताउनुभयो । ‘‘वास्तवमै इतिहास लेख्न गाह्रो रहेछ । विश्वमै खेलकुद साहित्य कम लेखिन्छ । अझ नेपालमा खेलकुदको इतिहासको पर्याप्त दस्ताबेज नै छैन । यस्तो अवस्थामा देश बाहिर गएर तथ्य संकलन गर्न कठिन भयो,’’ उहाँले भन्नुभयो ।