काठमाडौं, असार २६ गते । नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय वरीयता एक स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।
यसअघि १४औँ स्थानमा रहेको नेपाल एक स्थान खस्कँदै १५औँ स्थानमा पुगेको छ । जिम्बावेमा हालै सम्पन्न आइसिसी एक दिवसीय विश्वकप छनोट अन्तर्गत १० टोली सहभागी छनोट खेलमा नेपाल आठौँ भएको थियो ।
सुपर सिक्सबाट बाहिरिएको नेपालले विश्वकप छनोटका खेलेको ६ खेलमा दुई खेल मात्र जितेको थियो । विश्वकप छनोटको प्रदर्शनले पनि नेपालको वरीयता खस्किएको हो । एक दिवसीय विश्वकपमा छनोट भएको नेदरल्यान्ड्सले वरीयता सुधार गर्दै नेपाललाई पछि पारेको हो ।
वरीयतामा एसोसिएट राष्ट्रतर्फ स्कटल्यान्ड शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स दोस्रो र नेपाल तेस्रो स्थानमा रहेको छ । आइसिसीको नयाँ वरीयतामा शीर्षस्थानमा अस्ट्रेलिया, दोस्रो स्थानमा पाकिस्तान र तेस्रो स्थानमा भारत रहेको छ ।