काठमाडौं, असार २५ गते । दक्षिण एसियाली विश्वविद्यालय (साउथ एसियन युनिभर्सिटी) का चारजना प्राध्यापकलाई ‘दुराचार’को आरोपमा निलम्बन गरिएको छ । विश्वविद्यालय प्रशासनले यही असार १ गते चारजना प्राध्यापकलाई दुराचारको आरोपमा निलम्बन गरेको हो ।
निलम्बनलाई लिएर विश्वभरका पाँच सयभन्दा बढी प्राध्यापक, शोधकर्ता, शिक्षक र विद्यार्थीले असार २२ गते सार्कका आठ सदस्य राष्ट्र र महासचिवलाई संयुक्त खुला पत्र लेखेका छन् ।
पत्रका हस्ताक्षरकर्ताले विश्विविद्यालय प्रशासनलाई प्राध्यापकको ‘अनुचित र स्वेच्छाचारी निलम्बन तुरन्त खारेज गर्न’ माग गरेका छन् । चारैजना प्राध्यापकलाई ‘गलत आचरण’को आरोपमा निलम्बन गरिए पनि विश्वविद्यालय प्रशासनले जारी गरेको निलम्बन आदेशमा गलत आचरणबारे नखुलाइएको संयुक्त पत्रमा उल्लेख छ ।
दक्षिण एसियाली विश्वविद्यालय सन् २०१० मा सार्क सम्बद्ध दक्षिण एसियाली राष्ट्र नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, माल्दिभ्स र अफगानिस्तानबीचको अन्तरसरकारी सम्झौता अनुसार स्थापना गरिएको विश्वविद्यालय हो ।
विश्वविद्यालयको प्रशासन यी आठै मुलुकका विदेश वा परराष्ट्र मन्त्रालयको समन्वयमा सञ्चालन हुने गरेको छ । यो विश्वविद्यालयका विद्यार्थी बढ्दो मुद्रास्फीतिको अवस्थामा मासिक छात्रवृत्ति रकममा वृद्धि हुनुको सट्टा कटौती भएको भन्दै सेप्टेम्बर २०२२ देखि आन्दोलित भएका थिए ।
यसका अतिरिक्त विद्यार्थीले यौन उत्पीडन एवम् लैङ्गिक संवेदनशीलतालाई सम्बोधन गर्ने समितिमा आफ्नो प्रतिनिधित्वको माग गरिरहेका थिए । आन्दोलन दबाउन विश्वविद्यालय प्रशासनले विश्वविद्यालय परिसरभित्र प्रहरी बोलाएर धरपकड गरेकाे थियाे ।
सो धरपकडको विरोध जनाउँदै समाजशास्त्र विभागका डा. इर्फानुल्लाह फारुकी, डा. रविकुमार, अर्थशास्त्र सङ्कायका डा. स्नेहाशिष भट्टाचार्य र कानुन अध्ययन सङ्कायका डा. श्रीनिवास बुर्राले विश्वविद्यालय प्रशासनलाई विद्यार्थीसँग शान्तिपूर्ण संवाद गर्न आग्रह गर्नुभएको थियो । तत्पश्चात् २०७९ पुस १५ गते चार जना प्राध्यापकलाई विश्वविद्यालय प्रशासनले इमेलमार्फत कारण देखाऊ आदेश जारी गरेको थियो । अन्ततः यही असार १ गते चारैजना प्राध्यापकलाई निलम्बन गरिएको थियो ।
शैक्षिक एवम् प्राज्ञिक संस्थाको प्राथमिक उद्देश्य विद्यार्थीको हितको सुरक्षा गर्ने, न्याय, निष्पक्षता एवम् प्राध्यापकका अधिकारको सम्मानका सिद्धान्तलाई प्रोत्साहन गर्ने वातावरण स्थापना गर्नु हो भन्दै इरफान हबिब, पेट्रिसिया उबेरोई, पार्था चटर्जी, प्रभात पटनायक, अपूर्वानन्द, जायती घोष, केभिन एन्डरसन, अनुपमा रोय, सेल्डोन पोलोक लगायतका प्राज्ञ एवम् बौद्धिकले समेत यो पत्रमा हस्ताक्षर गरेका छन् ।
पत्रले प्राध्यापकलाई निलम्बन गर्ने विश्वविद्यालयको ‘स्वेच्छाचारी एवम् उपेक्षा भावबाट गरिएको निर्णयले शैक्षिक एवम् प्राज्ञिक संस्थाको जवाफदेहिता, पारदर्शिता, अखण्डता र दिगोपनाको अवमूल्यन गरेको छ’ भन्दै यस्ता कदमले विश्वविद्यालयको विश्वसनीयतामा क्षति पुराउने उल्लेख गरेको छ । यसअघि यो मामिलामा बङ्गलादेशका विभिन्न विश्वविद्यालयका ८३ प्राध्यापक एवम् अध्यापकले दक्षिण एसियाली विश्वविद्यालयका ‘चार प्राध्यापकको मानमर्दन एवम् अपमान’को भर्त्सना गर्दै चारै जना प्राध्यापकलाई पुनर्बहाली गर्न विश्वविद्यालय प्रशासनसमक्ष माग गरेका थिए ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                