हिमाल, पहाड तराईको भूबनोट र हावापानीमा थरी थरीका अन्न र फलफूल उत्पादन गरी आत्मनिर्भर बन्ने अनि निर्यात गरी अर्थतन्त्र सुधार गर्न सक्ने सम्भावनायुक्त देश हो नेपाल। तर अघिल्लो वर्ष विश्व बैङ्कले विभिन्न ५० वटा देशको वैदेशिक व्यापार (निर्यात) अवस्था अध्ययन गरेर भनिदियो– नेपालले सबैभन्दा धेरै सम्भावना खेर फालिरहेको छ। यसले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्छ। हुन पनि विगतमा धेरैले कल्पना नगरेको जुस निर्यातको पछिल्लो अवस्थाले गुणस्तरीय उत्पादन र निर्यात प्रोत्साहन हुने हो भने हाम्रो कृषिकै विकासले आर्थिक वृद्धिदर बढाउन सक्छ भन्ने देखाएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म जुस निर्यात १२.९ प्रतिशतले बढेर छ अर्ब १० करोड रुपियाँ पुगेको छ। योबिचमा पाँच करोड ४५ लाख ८८ हजार लिटर जुस निर्यात भयो। अन्तर्राष्ट्रिय बजारमा नेपाली जुसको माग बढ्दै गएपछि थप निर्यातको सम्भावना देखिएको छ।
नेपालमा उत्पादन भएको जुस बङ्गलादेश, चीन, भारत, इटाली, कोरिया, माल्दिभ्सलगायतका देशमा निर्यात हुने गर्छ। सरकारले शक्तिवर्धक पेय पदार्थ (इनर्जी ड्रिङ्क्स) र बनावटी जुस (फ्लेवर्ड सिन्थेटिक ड्रिङ्क्स) को आयातमा प्रतिबन्ध लगाएसँगै स्वदेशी जुसको निर्यातमा वृद्धि भएको देखिएको छ। शक्तिवर्धक पेय र बनावटी जुसको आयातमा चार वर्षदेखि प्रतिबन्ध छ। चालु आर्थिक वर्षको फागुनसम्मको तथ्याङ्क अनुसार फलफूल तथा नट्स (कटुस, बदाम आदि), चिया, पिठोलगायतको निकासी बढेको छ; पैठारी घटेको छ। यद्यपि कृषिजन्य वस्तुको आयात उच्च छ तर नेपालबाट हुने निकासीमध्ये करिब ५० प्रतिशत हिस्सा कृषिजन्य वस्तुले ओगटेका छन्। कृषिजन्य वस्तुको निकासी ५१ प्रतिशत र आयात २६.५ प्रतिशतले घटेको आर्थिक सर्वेक्षणले देखाएको छ। अत्यावश्यक वस्तुबाहेक स्वदेशमै उत्पादन हुने वस्तुको आयातमा नियन्त्रण वा भन्सार दर उच्च राखी आयात प्रतिस्थापन गर्ने नीतिको औचित्य जुस निर्यातमा भएको वृद्धिले पुष्टि गर्छ।
त्यसो त जुस उत्पादनमा बहुराष्ट्रिय कम्पनी डाबर इन्टरनेसनल लिमिटेडको ९७.५० प्रतिशत हिस्सा छ। त्यसले ४० भन्दा बढी प्रकारका जुस उत्पादन गरी निर्यात गर्दै आएको छ। डाबर नेपालले गत वर्ष १३ अर्ब रुपियाँको व्यापार गरेको थियो, जसमध्ये ६० प्रतिशत हिस्सा निर्यातको थियो। उत्पादित ४० प्रतिशत जुस आन्तरिक बजारमा खपत हुने गरेको छ। नेपाली उपभोक्ताले बङ्गलादेश, थाइल्यान्ड, साउदी अरब, इटाली, कतार, कुवेतलगायतका देशबाट आयातित जुस पनि पिउने गरेका छन्। हिमाली क्षेत्रमा हुने स्याउदेखि गर्मीमा हुने आँप, खरबुजा आदि उत्पादन हुन्छन् नेपालमा। करिब एक लाख ३० हजार हेक्टर जमिनमा फलफूल खेती हुने गरेको छ। फलफूल खेती भने मूलतः परम्परागत, घरायसी उपभोगका लागि छ; गुणस्तरीय उत्पादन र बजार प्रवर्धन हुन सकेको छैन।
एउटा बहुराष्ट्रिय कम्पनीले यहीँ जुस उत्पादन र निर्यात गर्न सक्छ भने नेपालीले नै विकसित र व्यवस्थित खेती तथा गुणस्तरीय उत्पादन गर्न नसक्ने भन्ने कुरै हुँदैन। उत्पादन, प्रशोधन, भण्डारण र बजार प्रवर्धनमा समुचित नीति तथा प्रोत्साहन भएमा फलादि र पेयमा आत्मनिर्भर हुन मात्र होइन; निर्यात गरेर आम्दानी गर्न पक्कै सकिने छ। आर्थिक सर्वेक्षण २०७९/८० ले नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने अनुमान गरेको छ। आर्थिक वृद्धिको एउटा आधार वैदेशिक व्यापार पनि हो तर करिब २० खर्ब रुपियाँको आयात र दुई खर्ब रुपियाँको निर्यातको अवस्थाले हाम्रो व्यापार घाटामा सुधारको माग गरेको छ।
व्यापार घाटाको विकराल अवस्थाबाट जोगिन विदेशी वस्तु तथा सेवामाथि कम भर परेर आत्मनिर्भर हुने नीतिको व्यावहारिक कार्यान्वयन हुनु पर्छ। स्वदेशी कच्चा पदार्थमै भर परेर गरिने उत्पादन मात्र होइन; विदेशबाट कच्चा पदार्थ ल्याएर गुणस्तरीय उत्पादन गरी दुई तीन वर्षमै निर्यातमा उल्लेख्य सुधार गरेका लाओसलगायतका मुलुक कुनै बेला हाम्रै अवस्थामा थिए। हामीले कृषि उपज उत्पादन र बजारीकरणमा प्रोत्साहन गर्न सके पनि आत्मनिर्भर हुने अनि निर्यात प्रवर्धन गर्न सकिने प्रशस्त सम्भावना छ। कृषिमा व्यवसायीकरण, विविधीकरण र आधुनिकीकरण गरी युवालाई यस क्षेत्रमा आकर्षण गर्न सके दिगो आर्थिक विकासको आधार तयार हुने छ। स्वदेशी पुँजी, श्रम र कच्चा पदार्थ प्रयोग गरी स्वाधीन र स्वनिर्भर अर्थतन्त्र, उद्योगमा नवप्रवर्तन, गुणस्तर र प्रतिस्पर्धालाई प्रवर्धन, प्रोत्साहन गर्नु वाञ्छनीय छ।