• १९ वैशाख २०८१, बुधबार

सातौँ प्रधानमन्त्री कप भलिबल : आर्मीको दोस्रो जित

blog

फाइल तस्बिर ।

काठमाडौं, असार २४ गते । साबिक विजेता त्रिभुवन आर्मी क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा आइतबार भएको खेलमा आर्मीले दावाली मिलन क्लबलाई ३–० को सोझो सेटमा हरायो । 

आर्मीले दावालीमाथि २५–१९, २५–११, २५–२० को जित निकालेको हो । आर्मीले आफ्नो पहिलो खेलमा शैलुङ बागढुङ्गा स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । 

यसैगरी अर्को खेलमा एपिएफ क्लबले गण्डकी प्रदेश भलिबल सङ्घलाई ३–१ को सेटमा पराजित गरेको छ । एपिएफले २१–२५, २५–२१, २५–२३, २५–१७ को जित निकालेको हो ।

एपिएफको पनि लिगमा यो लगातार दोस्रो जित हो । पहिलो खेलमा एपिएफले दावाली मिलन क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । गण्डकीले भने लगातार दोस्रो हार खेपेको छ । आइतबार नै भएको अर्को खेलमा टिपटप हेल्प नेपालले सैलुङलाई ३–० को सोझो सेटमा हरायो । टिपटपले २५–१२, २५–१५, २५–१९ को सहज जित निकालेको हो । 

नेपाल भलिबल सङ्घको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा शनिबारदेखि सुरु भएको लिग असार ३० गतेसम्म चल्नेछ । लिगमा पुरुषतर्फ साबिक विजेता आर्मी, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब रामेछाप र दावाँली मिलन क्लब काठमाडौं गरी सात टोलीको सहभागिता रहेको छ । 

महिलातर्फ नेपाल पुलिस क्लब, होङ्गवाङ्गजी न्यू डायमन्ड यूथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टोलीले भाग लिएका छन् । 

लिगको च्याम्पियन टोलीले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने पुरुष क्लब च्याम्पियनसिपमा भाग लिन पाउनेछ । यस्तै विजेता टोलीले ६ लाख, उपविजेताले तीन लाख, तेस्रो हुनेले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपियाँ पुरस्कार पाउने सङ्घले जनाएको छ । 

पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीलाई जनही ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने भलिबल सङ्घले जनाएको छ ।