• १९ वैशाख २०८१, बुधबार

यू–१६ विजेता खेलाडीलाई एसपीएको सम्मान

blog

एसपीएद्वारा सम्मानित खेलाडीहरु ।

काठमाडौं, असार २४ गते । अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीलाई एसपीए कलेजले सम्मान गरेको छ । 

नेपाली टोलीमा रहेका सुदूरपश्चिमका तीन जना खेलाडी विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई कलेजले आइतबार एक कार्यक्रमबीच सम्मान गरेको हो ।

घरेलु टोली मलेसियामाथि दुई सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रो पटक यू–१६ इस्ट जोनको उपाधि जितेको थियो । कञ्चनपुरका आशिष एसपीए क्रिकेट टोलीको समेत कप्तान हुनुहुन्छ । उहाँ एसपीए कलेजमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । यस्तै फाइनलमा प्रतियोगितामा शतक प्रहार गर्नुभएका ओपनर ब्याटर नरेन भट्ट बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

अशोक धामी बझाङका हुनुहुन्छ । तीनै जनालाई एसपीएले स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा पनि गरेको छ । यस्तै एसपीएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई नि:शुल्क प्रशिक्षणको व्यवस्था मिलाएको छ ।

क्याम्पस प्रमुख योगराज उपाध्यायले देशकै नाम उँचो पारेका खेलाडीलाई सम्मान गर्न पाउँदा एकदमै गौरवान्वित महसुस भइरहेको बताउनुभयो । उहाँले एसपीए कलेजमा आठ जना क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी अध्ययन गरिरहेको बताउँदै खेलाडी र एसपीए पर्यायवाची शब्द जस्तै भएको बताउनुभयो । आगामी दिनमा पनि कलेजले खेलाडीहरुको हौसला अभिवृद्धि गर्न एसपीएले यस्ता खाले कार्यक्रम गरिरहने क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो । 

खेलाडीका तर्फबाट मन्तव्य राख्दै आशिषले सम्मानका लागि एसपीए कलेजलाई धन्यवाद दिनुभयो । उहाँले गृहनगरमा सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताउनुभयो । साथै उहाँले अध्ययन र प्रशिक्षणमा कलेजले पूर्ण सहयोग गर्ने भएपछि धन्यवाद व्यक्त गर्नुभयो । 

सुदूरपश्चिमको शैक्षिक धरोहर एसपीए कलेज र खेलकुदको सम्बन्धमा पर्यायवाची जस्तै छ । देशकै खेलकुदमा भएका व्यावसायिक र नौलो प्रयोगहरुमा एसपीए कलेज र यसका प्रबन्ध निर्देशक सुवास शाही जोडिनुभएको छ । 

चाहे त्यो एसपीए कपबाट फ्रेन्चाइज अवधारणाको जरो गाडेको होस्, या धनगढी प्रिमियर लिगले सुरु गरेको अक्सन तथा फ्रेन्चाइज क्रिकेट । फुटबलमा नेपालकै पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिगसँग पनि एसपीए जोडिएर आएको छ ।

एसपीए एउटा त्यस्तो कलेज हो, जहाँ आठ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययनरत छन् । आफ्नै क्रिकेट, फुटबल, भलिबल, बास्केटबललगायत विभिन्न खेलको टोली छ । खेलाडीलाई नियमित प्रशिक्षण, अभ्यास र खेलको व्यवस्था गरिएको छ । 

एसपीएमा खेलाडीहरु छात्रवृत्तिमा अध्ययनरत छन् । ८ जना क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडी छन् । अहिले नेपाली राष्ट्रिय सिनियर टोलीका लोकेश बम, यू–१९ टोलीका नारायण जोशी, वसन्त कार्की, सिनियर महिला राष्ट्रिय टोलीका कविता कुँवर, श्वरी विष्ट, यू–१९ महिलातर्फ राष्ट्रिय टोलीका लक्ष्मी साउद, यशोदा विष्ट, सुमन विष्ट, मनीषा चौधरी र मनीषा उपाध्याय जस्ता खेलाडी एसपीएमा अध्ययनरत हुनुहुन्छ ।

फुटबल, तेक्वान्दो, भलिबल, बास्केटबलका पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पनि एसपीएमा अध्ययनरत छन् ।