• १३ साउन २०८१, आइतबार

पर्यावरणका लागि ६ लाख बिरुवा रोपिने

blog

डिभिजन वन कार्यालय सिमराको नर्सरीमा लगाइएको दुई वर्षे बिरुवा तस्बिर : शिवशङ्कर मिश्र ।

शिवशङ्कर मिश्र 

बारा, असार २४ गते । पर्यावरण तथा मौसम परिवर्तनमा सराहनीय भूमिका देखाउन डिभिजन वन कार्यालय सिमरा बाराले यस वर्ष छ लाख बिरुवा रोप्ने लक्ष्य राखेकाे छ । जिल्ला वन कार्यालय मातहत रहेका ५ वटा नर्सरीबाट उत्पादन भएका विभिन्न प्रजातिका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको डिभजन वन कार्यालयका प्रमुख विनोद सिंहले बताउनुभयो । 

जिल्लाका ४ वटा निर्वाचन क्षेत्रको तामागढी नर्सरीबाट २५ हजार, कोल्हवीबाट ७५ हजार, खैरातीमाईबाट एक लाख, कलैयाबाट २ लाख र बरियारपुरबाट २ लाख गरी छ लाख बिरुवा वितरण गरिनेछ।

यसैगरी, डिभिजन वन कार्यालय सिमरामा यस वर्ष एक लाखको सङ्ख्यामा दुई वर्षे बिरुवा लगाइएको छ । सार्वजनिक ठाउँ, सामुहिक एवम् आन्तरिक कार्यक्रमको लागि बिरुवा वितरणको कार्य सुरु भए पनि स्थानीय किसान वा निजी जग्गामा वृक्षरोपण गर्न असार २५ गते सोमबारदेखि सबै नर्सरीबाट निःशुल्क रुपमा बिरुवा वितरण गरिने सहायक वन अधिकृत एवम् सूचना अधिकारी जवाहर कुर्मीले जानकारी दिनुभयो । 

चार वटा साझेदारी तथा छ वटा सामूहिक वनले पनि विगत दुई वर्षदेखि बिरुवा रोप्ने कार्यक्रम गर्दै आएका छन् । गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैया, हलखोरिया साझेदारी वन व्यवस्थापन समिति डुम्मरवाना, सहजनाथ साझेदारी वन व्यवस्थापन समिति र तामागढी साझेदारी वन व्यवस्थापन समितिले पनि विरुवा रोप्ने कार्यक्रम निर्धारण गरेका उहाँले बताउनुभयो । 

विजयसाल, महोगनी, सखुवा, अमला, बेल, रिठा, राजवृक्ष, सिसौ, मसाला, टिक, जामुन, अम्बा र खयरलगायतका बिरुवा तयारी अवस्थामा रहेको सूचना अधिकारी कुर्मीले बताउनुभयो । यसैगरी गढीमाई साझेदारी वन व्यवस्थापन समूहले १५ वटा साविक गाविसमा निःशुल्क रुपमा आँप, लिच्ची, कटहरलगायतका फलफूलका बिरुवा लगाउन बाहिरको निजी नर्सरीमा टेण्डर आह्वान गरेका छन् । 

दिनानुदिन बढ्दै गएको वायु प्रदूषणलाई बिरुवा रोपेर शुद्धीकरण गर्नुको साथै वातावरण स्वच्छ राख्नको लागि हरियाली जिल्ला बनाउनमा साझेदारी वनको दायित्व पूरा गर्न यसरी गाउँटोलका स्थानीयलाई घरपिच्छे दुईटा बिरुवा वितरण गर्ने कार्यक्रम रहेको गढीमाई साझेदारी वनका अध्यक्ष शिवजीप्रसाद साहले भन्नुभयो । 

गत वर्ष डिभिजन वन कार्यालय सिमरा बाराले सात लाख बिरुवा वितरण गरेको थियो । जिल्लाका १६ स्थानीय पालिकामा डिभिजन वन कार्यालयले बिरुवा वितरण गरेकोमा ७५ प्रतिशत बिरुवा उम्रिन सफल भएको वन कार्यालयले जनाएको छ । वन अतिक्रमित क्षेत्रमा करिब २० हेक्टर ऐलानी जग्गामा ३२ हजार बिरुवा लगाइएको छ ।

यसैगरी, विगत तीन वर्षको अवधिमा निर्माणाधीन रहेको काठमाडाैं तराई जोड्ने फास्ट–ट्रयाक क्षेत्रमा नोक्सानी तथा कटान गरिएका रुखको सट्टा ५ सय हेक्टर क्षेत्रफलमा वृक्षराेपण गरिएको वन कार्यालयले जनाएको छ ।