• २१ वैशाख २०८१, शुक्रबार

शपथ खाएर गौरीगन्ज मन्दिर पुगे मुख्यमन्त्री थापा

blog

मन्दिरको दर्शन गर्दै मुख्यमन्त्री थापा । तस्बिर: गोरखापत्र

विष्णुप्रसाद पोखरेल

दमक, असार २३ गते । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापा मुख्यमन्त्री नियुक्त भएकै दिन शुक्रवार बेलुका झापाको गौरीगन्जस्थित पुरानो वैजेश्वरनाथ कोटेश्वर शिवालय मन्दिर (धाम) मा पुग्नु भएको छ । पूर्वी नेपालकै सबैभन्दा पुरानो मठमन्दिरहरू मध्येमा पर्ने यो मन्दिरमा पुगेर उहाँले पूजा गर्नुभएको छ । 

उहाँले उक्त मन्दिरमा रहनु भएकी धार्मिक अभियन्ता पहिलो महिला जगद्गुरु शङ्कराचार्य भएको दाबी गर्ने साध्वी हेमा गिरिसँग आर्सीवाद लिँदै यस मन्दिर र यस क्षेत्रको विकासमा आफू लाग्ने प्रतिबद्धता जनाउनु भएको छ । वैजेश्वरनाथ धामको समृद्धि र विकासको लागि काम गर्ने मेरो सोच यसभन्दा अघि पनि थियो तर विभिन्न कारणले काम गर्न सकेको थिइन, मुख्यमन्त्री थापाले भन्नुभयो ।

मुख्यमन्त्री कार्कीले यस धामको विकाससँगै गौरीगन्जको विकासमा नै आफ्नो ध्यान जाने बताउँदै आफूले मुख्यमन्त्रीमा शपथ लिएर दिनभर अन्न पनि नखाई यहाँ आइपुगेको जानकारी दिनु भएको थियो । उक्त मन्दिरमा गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी सहित जनप्रतिनिधिहरूलाई स्वागत गर्नुभएको थियो ।

सो अवसरमा मन्दिरकी साध्वी गिरीले आर्शिवाद् दिँदै यस मठको विकासमा मुख्यमन्त्री थापाले चासो दिएको र महत्त्व दिएर आएको प्रति आभार प्रकट गर्नु भयो । उहाँले यो पुरानो र ऐतिहासिक वैजेश्वरनाथ धामको विकासले गौरीगन्ज क्षेत्रको विशिष्ट पहिचान बन्ने जनाउनु भयो । ऐतिहासिक महत्त्व बोकेको यस धामको विकासमा टेवा पुग्नेछ भन्ने अपेक्षा लिएका छौ, उहाँले भन्नुभयो ।

यसैबिच मुख्यमन्त्री थापाले नेपाली काँग्रेसका पुराना योद्धा पूर्णानन्द शर्मालाई पनि भेट गर्नु भएको छ । शर्माले प्रजातान्त्रिक आन्दोलनको भोगाइलाई उल्लेख गरेर ‘त्यागको परिणाम’ नामको पुस्तक लेख्नु भएको छ ।