बिरानो देश, साह्रै प्रचण्ड धूप
दिन बितिरहेछ पाखुरा चलाएरै
अनि ऊ खसालिरहेछ पसिनाका थोपा ।
घामको स्पर्शले, फूलमा रङ प्रकृति भर्छ
जुनेली रात शीतका कणकणले
पालुवा पल्लवित हुन्छ
त्यहाँ घाम जूनले, उत्साहको लहर बोकेर
ल्याउन सक्दै सकेन बहार, उसको जीवनमा
यता मातृले मागिरहेछ पसिनाका थोपा ।
झरनाको सङ्गीतमय शीतल छहारी
चराको कलरव, माटोको सुगन्ध
नीलो गगनमा उडेका शान्तिका प्रतीक
यी सबै स्मृतिमा हुँदा–
दिनरात आउँछन् कल्पना अनि सपनामा
बालक्रिडा गर्दै खेलेको धर्ती अतृप्त छ
खोजिरहेछ पाइलाका पदचाप र पसिनाका थोपा ।
आफन्त बिर्सी, हातमुख जोड्न विदेश पसेको
फर्कन्छु भन्दै धेरै वसन्त बिते, शिशिर बिते
बर्खामा झैँ निथ्रुक्क भिज्छ समय
पीरको घनघोर वर्षासँगै
ऋणको ज्वालाको लप्का निभाउन–
तर आफ्नै माटोले मागिरहेछ पसिनाका थोपा ।
बिछोडिएका आत्मयीसँग मिलनको आशामा
भौँतारिरहेछ निठुरी बनी
आशाको आभा बोकेर, यता नवजात शिशु जन्मियो
छातीमा उसलाई टाँस्दै चुम्बनको अभिलाषाको प्यासी
उता झारिरहेछ पसिना थोपा ।
सम्झँदै पुराना स्मृति
बारम्बार आँसु र पसिना
एकैसाथ झरिरहेछ, विदेशी भूमिमा
अब, अनुहारमा मुस्कान र झर्नु पर्छ–
पसिनाका थोपा आफ्नै माटोमा ।