• २१ वैशाख २०८१, शुक्रबार

फिदिम बजारमा सडक बत्ती जडान

blog

फिदिम समाचारदाता

फिदिम, असार २३ गते । सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएपछि पाँचथर सदरमुकाम फिदिमको रात्रिकालीन मुहार फेरिएको छ। सदरमुकामको मुख्य सडकमा नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा फिदिम नगरपालिकाले सडक बत्ती जडान गरेको हो। कुल एक करोड २१ लाख तीन हजार ४०३ रुपियाँको लागतमा सदरमुकामको प्रवेश बिन्दु समर्पित अस्पतालदेखि चारखम्बेसम्म १७६ थान सडक बत्ती जडान गरिएको हो। 

नगरपालिकाको ६० र विद्युत् प्राधिकरणको ४० प्रतिशत लागत साझेदारीमा स्ट्रिट लाइट जडानको काम सम्पन्न गरिएको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो। “विद्युत प्राधिकरणको ४० र नगरपालिकाको ६० प्रतिशत साझेदारीमा काम सम्पन्न गरेका हौँ,” उहाँले भन्नुभयो।

तीन वर्षअघि प्रक्रिया सुरुवात गरेर असार १९ गते जडान कार्य सम्पन्न गरिएका सडक बत्ती सोही साँझ परीक्षण गरिएको थियो। परीक्षण सफल भएसँगै बिहीबार साँझ उद्घाटन गरिएको फिदिम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवीणहाङ योङहाङले बताउनुभयो।

सडक बत्तीको उद्घाटन गर्दै सङ्घीय सांसद तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले सडक बत्ती सञ्चालनमा आएपछि रात्रिकालीन समयमा हुने दुर्घटनामा कमी आउनुका साथै आपराधिक घटना नियन्त्रणमा समेत सहयोग पुग्ने बताउनुभयो।

सडक बत्ती उद्घाटन गरिएसँगै बजार क्षेत्रका बासिन्दामा खुसीयाली छाएको   छ। “गज्जब लाग्यो रातिको समयमा सडकमा उज्यालो भयो, छुट्टै रौनक छ, अब भने आरामले हिँडडुल गर्न सकिने भयो,” फिदिम बजारका स्थानीय मनकुमार केरुङले भन्नुभयो। सडक बत्ती जडानमा फिदिम नगरपालिकाले मात्रै ७३ लाख २० हजार १७४ रुपियाँ रकम बेहोरेको प्रमुख काफ्लेको भनाइ छ।