काठमाडौँ, असार २३ गते । अनुसन्धानदाता शिव रेग्मीद्वारा सङ्कलन गरिएका मधुपर्क मासिक पत्रिकाको विभिन्न अङ्कको डिजिटलाइजेसनको प्रति मार्टिन चौतारीले गोरखापत्र संस्थानलाई हस्तान्तरण गरेको छ । रेग्मीकी छोरी शैलेजा रेग्मी भट्टराईले सङ्कलित प्रति मार्टिन चौतारीलाई हस्तान्तरण गर्नुभएको थियो र सोही प्रति मार्टिन चौतारीले शुक्रबार गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीलाई हस्तान्तरण गरेको छ ।
मधुपर्क मासिक २०२५ सालदेखि प्रकाशन हुँदै आएको छ । मधुपर्कको डिजिटलाइजेसन मदन पुरस्कार पुस्तकालयले गरेको थियो । रेग्मीकी छोरी भट्टराईले मधुपर्कका विभिन्न अङ्क पाठकले सहज रूपमा अध्ययन गर्न सक्ने उद्देश्यले डिजिटलाइजेसन गरिएको प्रति संस्थानलाई हस्तान्तरण गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ज्ञान भनेको जत्ति बाड्यो त्यत्ति नै बढ्ने भएकाले सङ्कलन गरिएका अङ्कलाई जीवन्त राख्नका लागि डिजिटलाइजेसन गरिएको प्रति संस्थानलाई हस्तान्तरण गरेका हौँ ।” संस्थानका महाप्रबन्धक ऐरीले संस्थानका प्रकाशनलाई जीवन्तता दिँदै नयाँ पुस्ताले सहज रूपमा अध्ययन गर्न सकिने गरी प्रकाशनलाई दस्ताबेजीकरण गर्दै जाने नीति संस्थानले बनाएको बताउनुभयो ।