काठमाडौं, असार २२ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले भेटवार्ता गर्नुभएको छ। 
प्रधानमन्त्रीसँगको भेटमा नागरिकता ऐनको निर्देशिका र कार्यविधि छिटो निर्माण गरेर गैरआवासीय नेपाली नागरिकताको प्रावधान  कार्यान्वयनका लागि उहाँले अनुरोध गर्नुभएको छ। 
बिहीबार प्रधानमन्त्री प्रचण्डसँगको भेटमा अध्यक्ष आचार्यको नेतृत्वमा संघको प्रतिनिधि मण्डलले यस्तो अनुरोध गरेको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले  निर्देशिका र कार्यविधि निर्माणको काम अन्तिम चरणमा रहेको र छिट्टै सम्पन्न हुने विश्वास दिलाउनुभएको जानकारी अध्यक्ष आचार्यको सचिवालयले दिएकाे छ । 
यसअघि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेर एनआरएन प्रतिनिधि मण्डलले संघको तर्फबाट आफ्ना सुझाव पेश गरेको थियो।
भेटमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायत अन्य वरिष्ठ अधिकारीको सहभागिता थियो।  
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                