• १३ असोज २०८१, आइतबार

मटिहानी नगरपालिकाद्वारा आँपको बिरुवा वितरण

blog

मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डल आँपको विरुवा वितरण गर्नुहुँदै ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, असार २२ गते । हरियाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले आँपको बिरुवा वितरण सुरु गरेको छ । आफ्नो पालिकालाई हरियालीकरणको लागि आफूले नगरपालिकाको हरेक परिवारलाई आँपको बिरुवा वितरण गर्न लागेको नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो ।

पालिकाको नगर स्तरीय योजना अन्तर्गत पहिलो चरणमा करिब ५५ सय घर–परिवारलाई १० हजार आँपको बिरुवा वितरण गरिने बताउनुहुँदै उहाँले यसले हरियालीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । पालिकाको नौ वटै वडाका हरेक घर परिवारलाई निःशुल्क रुपमा दुई वटा आँपको बिरुवा उपलब्ध गराउने मटिहानी नगरपालिकाको कृषि शाखा प्रमुख टङ्क प्रसाद उपाध्यायले बताउनुभयो । उहाँले आँप खेती नगदेबालीको रुपमा हुन समेत प्रयोगमा आउन थालेकोले बाली पनि हुने र हरियाली पनि हुने भएकोले पालिकाले आँपको बिरुवा वितरण कार्यक्रम ल्याइएको कृषि शाखा प्रमुख उपाध्यायले बताउनुभयो ।

बिरुवा वितरण कार्यक्रममा नगरप्रमुख मण्डलले आँपको विरुवा लगाउनु मात्रै नभई संरक्षणमा पनि ध्यान दिन स्थानीयबासीहरुलाई आग्रह गर्नुभएको थियो । विरुवा वितरण कार्यक्रममा मटिहानी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जितनारायण माझी, वड़ा सदस्य जुगेश्वर यादव, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।